दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या आरोपमा सुनसरीमा एक जना पक्राउ

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या आरोपमा सुनसरीमा एक जना पक्राउ

सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए। 

विराटनगर महानगरपालिका-१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगतलाई लागेको छ। उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ।

उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए। थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप  छ। 

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

असोज ४, २०८० बिहीबार १२:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।