शिक्षा विधेयकमा भएका कमजाेरी हामि सच्याउँछौँ , विद्यालय बन्द नगरौँ : महामन्त्री थापा

शिक्षा विधेयकमा भएका कमजाेरी हामि सच्याउँछौँ , विद्यालय बन्द नगरौँ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा विधेयक सच्याउने प्रतिबद्धता जनाउँदै विद्यालय बन्द नगर्न आग्रह गरेका छन्। 

उनले बिहिबार बिहान सामाजिक सञ्जालबाट विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताउँदै संसदमा सच्याउँने प्रतिबद्धता जनाए।

उनले  लेखेका छन्,‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ।’ 

यस्तै,उनले आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्वोधन गर्ने कुरामा प्रतिबद्ध रहेको जनाए।

‘अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’उनले लेखेका छन्। 

शिक्षा विधेयक विरुद्ध देशभरका शिक्षकहरू हिजो (बुधबार)देखि विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। 

यसरि शिक्षक आन्दोलित हुँदा देशभरका ७० लाखभन्दा बढि विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। 

संसदमा दर्ता भएको शिक्षा विधेयकमा नेपाल शिक्षक महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गर्दै आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ।

असोज ४, २०८० बिहीबार १२:१७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।