स्वास्थ्यकर्मीमै विभेद, डाक्टर कुटिंदा अस्पताल बन्द, अहेब कुटिंदा विज्ञप्ति पनि आएन

स्वास्थ्यकर्मीमै विभेद, डाक्टर कुटिंदा अस्पताल बन्द, अहेब कुटिंदा विज्ञप्ति पनि आएन

काठमाडौं : साइकलबाट लडेका व्यक्तिको उपचार गर्ने क्रममा कञ्चनपुर बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी अहेब नरेन्द्रप्रसाद गैरे कुटिए। सामाजिक सञ्जालमा विरोध भयो तर चिकित्सक सम्बन्धी कुनै संस्था बोलेनन्।

यस अगाडि  हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सक विकास थापा र प्रशान्त विडारी एचडीयु वार्डमा कुटिएको विरोधमा नेपाल चिकित्सक संघले विरोध मात्र गरेन एक दिन सरकारी अस्पतालको आकस्मिक बाहेकको सेवा पनि बन्द गरायो।

त्यो बेलामा प्रहरीले कुटपिटमा संलग्न दुई जना समातिसकेको थियो। अहिले पक्राउ पर्नेको संख्या पाँच पुगिसक्यो। सरकारसँग वार्तामा बसेर कार्यस्थलमा सुरक्षाबारे सामान्य सर्तमै संघ मान्यो। 

शान्ति सुरक्षाको माग राख्दै गरिएको आन्दोलनको सम्झौतामा ‘चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायत समस्या समाधान गर्ने गरी तीन महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने’ उल्लेख गरियो।

अहेब कुटिंदा त्यहींका स्वास्थ्यकर्मीले मात्र विरोध गरेका थिए। संघ कडा आन्दोलनमा नउत्रिए पनि सरकारले भने आफ्नो काम गर्यो। कुटपिटमा संलग्न रामबहादुर खड्कालाई पक्राउ गर्यो। 

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी गृहमन्त्री नारायणकाजी श्रेष्ठले खड्का पक्राउको जानकारी दिए।

बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात भएको कुरा उठाउँदै घटनाबारे सोधेका थिए। बैठकमा सहभागी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समिति कक्षबाटै कञ्चनपुरका प्रहरी नेतृत्वसँग जानकारी लिएका थिए।

त्यसपछि श्रेष्ठले घटनामा संलग्न गैरेमाथि आक्रमण गर्ने बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्का पक्राउ परिसकेको जानकारी गराए।

साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेका बेलौरीका बाबुराम चौधरी मंगलबार राति उपचारका लागि स्वास्थ्य चौकीमा गएका थिए। यसैक्रममा खड्काले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटेका थिए।

असोज ४, २०८० बिहीबार १२:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।