शौचालय जाँदा ध्यान पुर्‍याउनुस्, ज्यानै जोखिममा समेत पर्न सक्छ

शौचालय जाँदा ध्यान पुर्‍याउनुस्, ज्यानै जोखिममा समेत पर्न सक्छ

काठमाडौं : मानिसहरूको शौचालयमा मृत्यु भएको घटना धेरै सुनिन्छ। शौचालयमा मृत्यु हुनुका विभिन्न कारणहरू हुन्छन्।

विशेषगरी शौचालयमा चिप्लिएर लडेर, टाउकोमा चोटपटक लागेर व्यक्तिको मृत्यु हुनसक्छ। त्यसैले शौचालयमा नचिप्लिने किसिमको चप्पल लगाउनु पर्छ।

त्यसैगरी झाडा पखाला, बान्ता जस्ता समस्या भएको समयमा पनि असजिलो महसुस हुने भएकाले व्यक्तिहरू शौचालय जान्छन्। यस्तो स्वास्थ्य समस्या भएको अवस्थामा सामान्यतया व्यक्तिलाई एक किसिमको तनाव उत्पन्न हुनसक्छ। 

व्यक्तिलाई हृदयघात हुँदैछ भने त्यसका लक्षणहरू आउने क्रममा शौचालय जाउँ-जाउँ जस्तो लाग्न सक्छ। व्यक्तिको मुटुले काम गर्ने क्षमता पहिले नै कमजोर भएको छ भने हृदयघतका लागि सहयोगी (हृदयघात ट्रिगर) हुन सक्छ। मुटु कमजोर हुँदा ‘भ्यागस नर्भ’मा पनि दबाब दिन्छ, जसले गर्दा कहिलेकाहीं हृदयघात गराउन सक्छ। 

शौचालय प्रयोग गर्ने क्रममा कतिपय व्यक्तिको रक्तचाप बढेको हुन्छ। जसले गर्दा शौचालयमा गएको समयमा हृदयघात वा मस्तिष्कघात गराउन सक्छ।

धेरै चिसो पानीले नुहाउँदा शरीरको रगत मस्तिष्कतिर जम्मा हुन थाल्छ। जसले गर्दा मुटु र मस्तिष्कमा दवाव सृजना हुन पुग्छ। मुटु र मस्तिष्कमा दबाब सृजना हुँदा कहिलेकाहीं नुहाउँदा नुहाउँदै हृदयघात वा मस्तिष्कघातको जोखिम हुन्छ।

त्यसैले नुहाउँदा खुट्टा वा शरीरमा पानी हालिसकेपछि मात्र टाउकोमा पानी हाल्नु उचित हुन्छ। त्यसैगरी दिसापिसाव गर्दा हुने दबाबले पनि ‘क्जयअप’ गराउन सक्छ। त्यसैले दिसापिसाव गर्दा धेरै बल गर्नु हुँदैन।

हिउँदको चिसो मौसममा न्यानो कोठाबाट चिसो शौचालयमा गएर धेरै बेर बस्दा समेत हृदयघातको जोखिम हुन्छ।

शौचालयमा व्यक्ति एक्लै हुने भएकाले शौचालयमा हुँदा नै व्यक्ति बेहोस भएको खण्डमा घर परिवारले घटना ढिलो थाहा पाउने जोखिम हुन्छ। त्यसैले उद्धार हुन समेत ढिलो हुने भएकाले व्यक्तिको बेलैमा उपचार हुन नसक्दा मृत्युको जोखिम हुन्छ।

विशेषगरी मुटुको समस्या तथा पहिला हृदयघातको लक्षण भएको व्यक्ति, एन्जिना भएको, पाको उमेरको व्यक्ति, पहिला पक्षघातको समस्या भएको व्यक्ति वा सुगर, रक्तचाप लगायतका स्वास्थ्य समस्या भएका व्यक्तिले विशेष सचेतता अपनाउनुपर्छ।

यस्तो स्वास्थ्य समस्या भएका व्यक्तिले शौचालय भित्रबाट ढोकाको चुकुल नलगाइ ढोका अड्काउने केही सामान्य विधि अपनाउनु उचित हुन्छ।

(डा. ज्ञवाली आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद चिकित्सक हुन्।)

असोज ४, २०८० बिहीबार ११:३१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।