गोलको वर्षा भएको खेलमा बायर्नले म्यानचेस्टर युनाइटेडलाई ४-३ ले हरायो

गोलको वर्षा भएको खेलमा बायर्नले म्यानचेस्टर युनाइटेडलाई ४-३ ले हरायो

एजेन्सी : गोलको वर्षा भएको च्याम्पियन्स लिगको खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा जर्मन क्लब बायर्नका लागि २८ औं मिनेटमा साने र यसको मात्र चार मिनेटपछि नै गनाब्रीले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवातीमै होइलन्डले इंग्लिस क्लब युनाइटेडका लागि एक गोल फर्काए। तर लगत्तै पेनाल्टीमा ह्यारी केनले गोल गर्दै पुनः बायर्नको अग्रता दुगुना पारे।

यसपछि युनाइटेडका लागि कासेमिरोले ८८औं मिनेटमा गोल गरेर खेलमा फर्कन खोजे पनि इन्जुरी टाइमको दोस्रो मिनेटमै टेलले बायर्नको लागि चौथो गोल गरे।

लगत्तै कासेमिरोले युनाइटेडको लागि फेरि एक गोल त गरे तर खेलमा फर्कन ढिला भइसकेको थियो र खेल बायर्नले ४-३ ले जित्यो।

जितपछि बायर्नले समूह ‘ए’ मा तीन अंक जोडेको छ भने युनाइटेडको कुनै अंक छैन।

असोज ४, २०८० बिहीबार ०७:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।