नेपालमा लगानी भित्र्याउन एनआरएनले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपालमा लगानी भित्र्याउन एनआरएनले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

जापान : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपाली संघलाई नेपालमा लगानी विस्तारका लागि पहल गर्न आग्रह गरे।

बुधवार जापानको राजधानी टोकियोमा आयोजित कार्यक्रममा बोल्दै उनले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायतका क्षेत्रमा लगानी विस्तारको सम्भावना रहेको भन्दै लगानी जुटाउन एनआरएनलाई आग्रह गरे।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसंगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावनाहरू रहेको र तिनीहरूमा लगानी र प्रविधि भित्राउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने बताएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली सङ्घबीच सुमधुर सम्बन्ध रहेको बताउँदै उनले महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि सहयोग गर्न सक्ने बताएका थिए।

उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरूमा लगानी प्रवद्र्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने बताएका थिए।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थिति थियो।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापानले आयोजना गरेको कार्यक्रममा एक सय भन्दा बढी गैर आवासीय नेपाली उपस्थित थिए।

असोज ३, २०८० बुधबार २२:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।