बाबुरामलाई बाइपास गर्दै दोस्रो अध्यक्ष यादवलाई माओवादीको पार्टी एकताको चिठ्ठी

बाबुरामलाई बाइपास गर्दै दोस्रो अध्यक्ष यादवलाई माओवादीको पार्टी एकताको चिठ्ठी

काठमाडौँ : बाबुराम भट्टराई छोरीसहित भारत भ्रमणमा रहेको बेलामा यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टीलाई पार्टी एकताको पत्र पठाए।

बाबुराम बाहिर हुँदा अहिले नेसपाको नेतृत्व दोस्रो अध्यक्ष महिन्द्र राय यादवले गरिरहेका छन्। बाबुराम नभएको बेलामा भदौ ३० मा अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले यादवलाई नै सम्बोधन गरेर पठाएको पत्र बुधवार बाहिरियो।

पत्रमा भदौ २५ गते पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरू)को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भएको र अन्तमा पार्टी एकतालाई सफल तुल्याउन पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठभित्र रहेको ‘माओवादी केन्द्र’बारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरिएको छ।

बाबुराम असोज १ गते भारत भ्रमणमा नस्किएका थिए। उनी असोज ६ गते नेपाल फर्कदैछन्। बाबुराम दिल्ली जाने अघिल्लो दिन अर्को अध्यक्षलाई सम्बोधन गरेर पत्र पठाएको सार्वजनिक भएपछि नेसपामा शङ्का बढाएको छ। पार्टीमा रहेका बाबुराम पक्षका नेताहरू सो पत्र मान्य नहुने बताउन थालिसकेका छन्।

पत्र पाउने यादव सरकारमा समेत छन्। उनी खानेपानी मन्त्री छन्। यस अगाडि नै नेसपाले माओवादीसँग पार्टी एकताका लागि समिति समेत गठन गरिसके पनि समिति सक्रिय छैन।

उता माओवादीले अन्य पार्टीहरूसँग समेत एकता गर्न पार्टीको नामको कोष्ठकमा रहेको माओवादी केन्द्र शब्दमा पुनर्विचार गर्न पार्टीभित्र छलफल सुरु गरिसकेको छ।

असोज ३, २०८० बुधबार २०:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।