बंगलादेशका अलराउन्डर नासिर हुसेनसहित आठ जनामाथि भ्रष्टाचार आरोप

बंगलादेशका अलराउन्डर नासिर हुसेनसहित आठ जनामाथि  भ्रष्टाचार आरोप

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आईसीसीको एन्टी करप्सन इकाई (एसीयू)ले बांग्लादेशका अलराउन्डर नासीर हुसेनसहित अबुधावी टी-१० प्रतियोगिताको फ्रेन्चाइजी पूणे डेविल्सका आठ सदस्यहरूमाथि भ्रष्टाचार आरोप लगाएको छ।

यो आरोप सन् २०२०/२१ मा अबूधाबीमा खेलिएको संस्करणसँग जोडिएको छ।

नासीरको अलावा डेविल्स टिमको सहमालिक कृष्णकुमार चौधरी, पराग सांघवीको नामसमेत अगाडि आएको छ।

अन्य पाँच सदस्यहरूमा युएईको घरेलु लिगका खेलाडी रिजवान जावेद, श्रीलंकाका सालिया समन, ब्याटिङ कोच अशर जैदी, सहायक कोच सनी ढिल्लन र टिम म्यानेजर अहमद रहेका छन्।

२०२१ पछि डेविल्स यस प्रतियोगिताको हिस्सा बनेको थिएन। यो टिमले सन् २०२१ मा सुपर लिगको ६ खेल खेलेकोमा एकमा मात्र जित हात पारेको थियो।

एमिरेट्स क्रिकेट बोर्डले यो टुर्नामेन्टलाई निश्पक्ष राख्नका लागि भन्दै एसीयूलाई यसको निगरानी राख्न जानकारी गराएको थियो। आठ आरोपीलाई मंगलबारको घोषणापछि दुई हप्तामा आफ्नो प्रष्टिकरण पेश गर्न भनिएको छ।

आठ जनामाथि फिक्सिङको प्रस्तावको रिपोर्ट नदिएको, अनुसन्धानमा सहयोग नगरेको वा ढिलाइ गरेको आरोप मात्रै नभएर अन्य धेरै आरोप पनि लगाइएको छ।

संघवीलाई ‘म्याचको नतिजा वा प्रगतिमा जुवा खेलेको’ आरोप लगाइएको छ भने जैदी, जावेद, समन र ढिल्लनलाई ‘म्याच फिक्स गर्ने, नतिजालाई प्रभाव पार्ने वा कुनै पनि तरिकाले खेल परिवर्तन गर्ने प्रयास गरेको’ आरोप लगाइएको छ।

यसबाहेक जावेद र समनलाई ‘खेलाडीलाई भ्रष्टाचार गर्न उक्साएको’ आरोप पनि लागेको छ। यिनीहरूमध्ये हुसेन सबैभन्दा ठूलो नाम हो र उनले बंगलादेशका लागि तीनवटै फर्म्याट खेलेका छन्।

उनीमाथि ७५० अमेरिकी डलरसन्दा बढीको उपहार रिपोर्ट नगरेको आरोप लगाइएको छ, जुन एन्टी करप्सन युनिट (एसीयू)कोड अनुसार अनिवार्य छ।

असोज ३, २०८० बुधबार १३:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।