टीकापुर ‘नरसंहार’का सबै दोषी रिहा, ३० जना अझै फरार

टीकापुर ‘नरसंहार’का सबै दोषी रिहा, ३० जना अझै फरार

काठमाडौं : टीकापुर घटनामा दोषी ठहर भएर जेल परेका चार जना रिहा भएका छन्।

संविधान दिवस पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि बुधबार चारै जना कारागारमुक्त भएका हुन्।

तीन जना कैलाली कारागारमा थिए भने एक जना बालसुधार गृहमा। कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी रिहा भए।

उनीहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन्। नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भए।

थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो।

सर्वोच्च अदालतले यस घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भने पनि राजनीतिक लेनदेनमा सरकारले यसअघि नै रेशम चौधरीको बाँकी कैद माफी दिएर रिहा गराएको थियो।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहँदा अन्यको बाँकी कैद मिनाहा गराएको हो। एकै घटनामा दोषी ठहरिएका अन्य जेलमै रहेको र एक्लै रिहा भएको भन्दै रेशमको विरोध भएको थियो।

रेशम जेलमै रहँदा नागरिक उन्मुक्ति पार्टी गठन गरेर प्रतिनिधि सभा र प्रदेशमा जितेपछि कैद मिनाहा र माफीमा सत्ता सौदाबाजी सहज भएको थियो।

केन्द्रमा उनको श्रीमती रन्जिता श्रेष्ठ मन्त्री छिन् भने रेशम सरकारी सुरक्षा घेरा र सुविधामा हिँड्छन्।

रेशम बहु विवाहमा समेत जोडिएका छन्। टीकापुर घटनामा अझै ३० जना फरार छन्।

असोज ३, २०८० बुधबार १२:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।