काठमाडौंमा पहिलोपटक द्रुत बस सेवा सुरु, यातायात मन्त्री ज्वालाले गरे उद्घाटन

काठमाडौंमा पहिलोपटक द्रुत बस सेवा सुरु, यातायात मन्त्री ज्वालाले गरे उद्घाटन

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ। 

संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको एक भव्य कार्यक्रमका साथ उदघाटन गरेका छन्।

भक्तपुरको सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने द्रुत बसमा सर्वसाधारण भन भोलिदेखि मात्र चढ्न पाउने छन्। 

वुधबार उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेको बताइएको छ। 

हाललाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रुत बस सञ्चालन गर्न लागिएको हो। 

ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो। रत्नपार्क-सूर्यविनायक सडकमा नमुनाका रूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ।

द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ। द्रुत बस गुड्ने डेडिकेटेड लेनमा तोकिएको समयमा अन्य सवारीसाधन चलाउन पाइनेछैन।

एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने उक्त लेनमा चलाउन पाइने छ। विभागका अनुसार ट्राफिकको रातो बत्तीमा पनि द्रुत बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधन जस्तै गुड्नेछन्।

सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने प्रवक्ता पनेरूले बताए। द्रुत बस सञ्चालन तथा मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोगको सङ्ख्या घट्ने विभागको दाबी छ।

द्रुत बसको रत्नपार्कदेखि सूर्यविनायकसम्मका १९ स्थानमा बस स्टप तोकिएको छ। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ।

असोज ३, २०८० बुधबार ११:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।