संविधान संशोधन अपरिहार्य : जसपा

संविधान संशोधन अपरिहार्य : जसपा

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ।

संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

‘जनता समाजवादी पार्टी, नेपालले मुलुकमा पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माण गर्न चाहन्छ,’ उनले भने, ‘संविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा हामी दृढ छौँ।’

पूर्ण समानुपातिक संसद र प्रत्यक्ष जन निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, शक्तिशाली जनलोकपाल गठन गरी भ्रष्टाचार अन्त्य, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने, नागरिकतामा विद्यमान लैङ्गिक विभेदको अन्त्य र सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने लगायतका मुद्दा पनि आफूहरूले उठाउँदै आएकोउनको भनाइ छ।

संघीय गणतन्त्र नेपालका सबै अङ्ग, तह र निकायहरूमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू हुनुपर्ने, राज्यले प्रयोग गर्ने भाषालाई संविधानमा सूचिकृत गरिनुपर्ने र सबै भाषाहरूको संरक्षण र विकास गर्ने दायित्व राज्यको हुनुपर्ने पनि जसपाको धारणा भएको उनले बताए।

विभिन्न समयमा आदिवासी जनजाति, खस र सरकारबीच भएका सम्झौता, सहमति, समझदारी समेत उल्लङ्घन गरी अन्तरिम संविधानमा प्राप्त जनताका अधिकार समेतलाई खोस्ने कार्य गरी मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कार्य गरिएकाले संविधा संशोधन अपरिहार्य रहेको जसपाले ठहर गरेको हो। 

असोज ३, २०८० बुधबार १०:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।