भारत र क्यानडाबीचको तनाव उत्कर्षमा, दुवै देशले निकाले एक-अर्काका कुटनीतिज्ञ

भारत र क्यानडाबीचको तनाव उत्कर्षमा, दुवै देशले निकाले एक-अर्काका कुटनीतिज्ञ

एजेन्सी : सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव उत्कर्षमा पुगेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोप लगाउँदै भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेका छन्।

जवाफमा भारतले पनि क्यानडाका शीर्ष कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न भनेको छ। भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ।

यसैबीच क्यानडाका सञ्चारमाध्यमले क्यानडाले भारतविरुद्ध थप कदम चाल्नसक्ने बताइरहेका बेला ट्राभल एडभाइजरी जारी गरेको छ।

यसै वर्ष १८ जुनमा हरदीप सिंह निज्जरको सरेस्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो। हरदीप सिखहरूका लागि छुट्टै देश खालिस्तानको माग गर्दै भइरहेको आन्दोलनको कट्टर समर्थक थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई दोष दिँदै यो हत्याको पछाडि भारतको हात रहेको बताएका छन्।

‘विगत केही हप्तादेखि क्यानाडाली सुरक्षा एजेन्सीहरूले भारतीय सरकारी एजेन्टहरू र क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्याको सम्भावित सम्बन्धको आरोपको अनुसन्धान गरिरहेका छन्,’ उनले भनेका छन्, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले भारत सरकार र क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या बीचको सम्बन्धको आरोपको अनुसन्धान गरिरहेका छन्।’

उनले अगाडि थपेका छन्, ‘क्यानाडाको भूमिमै क्यानाडाका नागरिकको हत्यामा विदेशी भूमिका हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो।’

क्यानडेली समाचार संस्था टोरन्टो स्टारले एक रिपोर्टमा देशका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्ल्याङ्कलाई उद्धृत गर्दै भनेको छ, ‘प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा र खुफिया सल्लाहकार, क्यानाडाली सुरक्षा खुफिया सेवा (सीएसआईएस)का निर्देशकले हालसालै धेरै पटक भारतको भ्रमण गरेका छन्। उनले आफ्ना समकक्षीसँग भेट गरे, र भारतीय गुप्तचर एजेन्सीहरूलाई यी आरोपहरूबारे प्रश्न गरे।’

यसैबीच, क्यानडा सरकारको एक स्रोतलाई उद्धृत गर्दै सीबीसी रिपोर्टमा ट्रुडोले बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेनजस्ता आफ्ना नजिकका देशका नेताहरूलाई यस कदमको जानकारी दिएको उल्लेख गरेको छ।

क्यानाडाली सिख समुदायले के भने?
क्यानडामा सिख समुदायसँग सम्बद्ध कार्यकर्ताहरूले भारतविरुद्धको आरोपबाट आफूहरू अचम्म नपरेको बताएका छन्।

हरदीपको हत्यापछि भ्यानकुभरका सिखहरूले भारतीय वाणिज्य दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए। उनीहरूले निज्जरको हत्या विदेशी हस्तक्षेपको दुःखद् उदाहरण भएको बताए।

सिख प्रेस एसोसिएसनका प्रवक्ता जसवीर सिंहले भने, ‘हामी आशा गर्छौं कि यसले क्यानाडाको अन्य मामिलामा भारतको हस्तक्षेपको पनि कडा अनुसन्धान गर्नेछ।’

क्यानडाको विश्व सिख संगठनले निज्जर हत्या गर्नुअघि नै आफ्नो ज्यानलाई खतराबाट जोगिएको बताएको छ। उनले आफूलाई भारतीय गुप्तचर निकायले निशाना बनाएको दाबी समेत गरेका थिए।

उनले अगाडि भनेका छन्, ‘धेरै क्यानाडाली सिखहरूको जीवन पनि खतरामा छ र उनीहरू भारतको हिट लिस्टमा छन्।’

क्यानडाले किन लगायो भारतलाई आरोप?
यसै वर्ष जुनमा क्यानडामा ४५ वर्षीय खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्या भएको थियो।

यो घटना क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरे शहरमा रहेको गुरु नानक सिख गुरुद्वारा साहिबको पार्किङ स्थलमा भएको हो।

हरदीप सरेको ‘गुरु नानक सिख गुरुद्वारा साहिब’का अध्यक्ष थिए र भारत सरकारको ‘वान्टेड’ सूचीमा परेका थिए।

हरदीप सिंह निज्जर पञ्जाबको जालंधरको भरसिंह पूरा गाउँका हुन्। भारत सरकारका अनुसार हरदीप खालिस्तान टाइगर फोर्सका सदस्य थिए।

उनी खलिस्तान टाइगर फोर्सको सञ्चालन, नेटवर्किङ, तालिम र आर्थिक सहयोगमा सक्रिय रूपमा संलग्न थिए। हरदीपको हत्या भएको तीन महिनापछि क्यानडाले भारत सरकारलाई किन आरोप लगाएको हो भन्ने प्रश्न अझै अनुत्तरित नै छ।

तर, पूर्व सीएसआईएस विश्लेषक जेभिसा डेभिषले क्यानडाको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यसबारे बताएकी छन्।

उनी भन्छिन्, ‘यो एक्कासी भएको होइन। मलाई लाग्छ सायद समानान्तर अनुसन्धान चलिरहेको थियो। एकातिर हत्याको अनुसन्धान भइरहेको थियो, अर्कोतिर सुरक्षा निकायले पनि यसको पछाडि कुनै विदेशी शक्ति छ कि भनेर पत्ता लगाउन थालेको थियो।’

विगतमा धेरै देशका कूटनीतिज्ञ निष्कासन भइसके पनि संसदमा प्रधानमन्त्रीले हत्यामा संलग्न भएको आरोप लगाउनु अचम्म भएको क्यानडाका विश्लेषकहरू पनि बताउँछन्।

तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतविरुद्धको यो कारबाहीमा आफ्ना विपक्षी नेताहरूको समर्थन पाइरहेका छन्।

कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिवेयर र एनडीपी नेता जगमीत सिंहले ट्रुडोको आरोपको बचाउ गर्दै भारतलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।

पोलिवेयरले भने, ‘यदि यी आरोपहरू साँचो हो भने, तिनीहरू क्यानाडाको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन्। हामी भारत सरकारलाई यो हत्याको अनुसन्धानमा पारदर्शिताका साथ सहयोग गर्न चाहन्छौँ, किनभने सत्य बाहिर आउनैपर्छ। हामीले यो कसले गराएको हो भनेर थाहा पाउनैपर्छ।’

एनडीपी नेता जगमीत सिंहले पनि प्रधानमन्त्री ट्रुडोको समर्थनमा भनेका छन्, ‘कसैले भारतमा मानवअधिकार उल्लङ्घनमा चिन्ता व्यक्त गरेमा त्यहाँको भिसा नदिने र यदि भिसा पाएर भारत गएको अवस्थामा पनि हिंसा, उत्पीडन र हत्यासमेत हुनसक्ने विषयहरू सुन्दै र देख्दै हुर्किएको हुँ म। एक लोतान्त्रिक देश हुनुको नाताले हामीले भारतलाई स्पष्ट सन्देश दिनु आवश्यक छ।’

भारत र क्यानडाले के भने?
प्रधानमन्त्री ट्रुडोले सोमबार क्यानडाको संसदमा भने, ‘क्यानडेली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने पक्का भएको छ।’

जस्टिन ट्रुडोले संसदमा भने, विगत केही हप्तादेखि क्यानडेली सुरक्षा एजेन्सीहरूले भारतीय सरकारी एजेन्ट र क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्याको सम्भावित सम्बन्धको आरोपमा अनुसन्धान गरिरहेका छन्। क्यानाडामा कानूनको शासन कायम छ। हाम्रा नागरिकहरू र हाम्रो सार्वभौमसत्ताको संरक्षण सबैभन्दा महत्त्वपूर्ण छ।’

क्यानडाका प्रधानमन्त्रीले जी-२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग यो मुद्दा उठाएको बताए।

उनले भने, ‘हामीसँग दुईवटा शीर्ष प्राथमिकताहरू छन्। पहिलो, हाम्रो कानून प्रवर्तन र सुरक्षा एजेन्सीहरूले सबै क्यानडेली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र दोस्रो, यस हत्याका दोषीहरूलाई न्यायको कठघरामा ल्याइने। क्यानडाले आफ्नो चिन्ता भारतको शीर्ष गुप्तचर निकायलाई जानकारी गराएको छ। सुरक्षा अधिकारीहरूलाई जानकारी गराइएको थियो।’

ट्रुडोले भने,  ‘हाम्रो माटोमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको हात हुनु अस्वीकार्य र हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो।’

यो बयानको २४ घण्टा भित्र पहिले क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गर्यो र त्यसपछि भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्यो।

भारतले क्यानडाको आरोप अस्वीकार गरेको छ।

असोज ३, २०८० बुधबार ०९:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।