भारतमा भएका नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भन्दै क्यानडाले जारी गर्‍यो ट्राभल एडभाइजरी

भारतमा भएका नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भन्दै क्यानडाले जारी गर्‍यो ट्राभल एडभाइजरी

एजेन्सी : क्यानडाले भारतको लागि भन्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ।

मंगलबार साँझ क्यानडाले जारी गरेको एडभाइजरीमा उसले आफ्ना नागरिकहरूलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ।

क्यानडा सरकारले आफ्ना नागरिकहरूलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा यात्रा नगर्न आग्रह गरेको छ।

एडभाइजरीमा भनिएको छ, ‘जम्मु कश्मीरमा आतंकवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ। यसमा लद्दाखको यात्रा समावेश छैन।’

यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकलाई आग्रह गरेको छ। पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पञ्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ।

क्यानडाको यो नयाँ ट्राभल एडभाइजरी दुई देशबीच तनाव बढिरहेको बेला आएको हो।

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशंका व्यक्त गर्दै एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो र उनलाई भारत छोड्न पाँच दिनको समय दिएको थियो।

भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई बेतुकको भनेको छ।

आफ्नो देशको संसदमा भारतलाई आरोप लगाएका ट्रूडोले मंगलबार अर्को बयान दिएका छन्।

जसमा उनले भनेका छन्, ‘सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशंका व्यक्त गर्नुको पछाडि क्यानडाको नियत भारतलाई उक्साउने थिएन, तर भारतले यो मामिला राम्रोसँग सम्हालोस् भन्ने क्यानाडा चाहन्छ।’

उनले अगाडि भनेका छन्, ‘भारत सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्छ। यो हामीले गरिरहेका छौं। हामी कसैलाई उक्साउन वा मुद्दा तान्न चाहँदैनौं। यो अत्यन्तै गम्भीर छ र अन्तर्राष्ट्रिय कानूनमा यसको दूरगामी परिणाम हुनेछ, हामी शान्त रहनेछौं। हामी हाम्रो लोकतान्त्रिक सिद्धान्त र मूल्य मान्यतामा अडिग रहनेछौँ। हामी प्रमाणको पालना गर्नेछौं।’

असोज ३, २०८० बुधबार ०८:५५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।