रातो बत्तीमा पनि नरोकिने द्रुत बस सेवा सञ्चालन हुँदै

रातो बत्तीमा पनि नरोकिने द्रुत बस सेवा सञ्चालन हुँदै

काठमाडौं : काठमाडौंमा बुधबारदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन्।

द्रुत बसको शुभारम्भ रत्नपार्कबाट गरिनेछ। द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, ‘सडकमा रातो रङले डेडिकेटेड लेन छुट्याइएको छ। द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका सवारीसाधन  उक्त लेनमा प्रवेश गर्न पाउने छैनन्।’

हाललाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रुत बस सञ्चालन गर्न लागिएको हो। शुभारम्भको दिन दुई वटा बस सञ्चालन हुने र असोज ४ देखि बस थप गरी नियमित सञ्चालन हुने पनेरुले जानकारी दिए।

ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो। रत्नपार्क-सूर्यविनायक सडकमा नमुनाका रूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ।

द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ। द्रुत बस गुड्ने डेडिकेटेड लेनमा तोकिएको समयमा अन्य सवारीसाधन चलाउन पाइनेछैन।

एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने उक्त लेनमा चलाउन पाइने छ। विभागका अनुसार ट्राफिकको रातो बत्तीमा पनि द्रुत बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधन जस्तै गुड्नेछन्।

सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने प्रवक्ता पनेरूले बताए। द्रुत बस सञ्चालन तथा मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोगको सङ्ख्या घट्ने विभागको दाबी छ।

द्रुत बसको रत्नपार्कदेखि सूर्यविनायकसम्मका १९ स्थानमा बस स्टप तोकिएको छ। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ।

असोज ३, २०८० बुधबार ०८:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।