१९औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको बिदाई
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’मा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरेका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरिएको हो।
सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाई गरिएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीहरूबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नुका साथै राष्ट्र र समग्र जनताले खेलाडीहरूबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष विश्व बम मल्ल तथा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।
असोज ३, २०८० बुधबार ०८:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।