विद्यालय बन्द गरेर आन्दोलन गर्दै शिक्षक महासंघ, जिल्ला-जिल्लाबाट काठमाडौं आइपुगे शिक्षक

विद्यालय बन्द गरेर आन्दोलन गर्दै शिक्षक महासंघ, जिल्ला-जिल्लाबाट काठमाडौं आइपुगे शिक्षक

काठमाडौं : विद्यालय शिक्षा वधेयकको विरोधमा नेपाल शिक्षक महासंघले बुधबारदेखि सबै सामूदायिक विद्यालय बन्द गर्दै काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्।

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ।

यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो।

सरकारले सोमबार नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरे पनि महासंघले वार्ता अस्वीकार गरेको थियो।

महासंघकी अध्यक्ष कमला तुलाधरले ज्ञापनपत्र बुझाउँदा वास्ता नगर्ने मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको टिप्पणी गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘हामी आन्दोलनमा होमिइसकेका छौं, देशैभरका शिक्षक राजधानी आउने क्रम जारी छ। हाम्रो आन्दोलनलाई अर्कैतर्फ मोड्न सरकारले वार्ताको बहाना गर्न खोजेको छ।’

आन्दोलनको कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प हुनेछ भने करिब ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन्।

महासंघले घोषित १८ बुँदा संशोधन नभएसम्म देशैभरका करिब १ लाख १० हजार शिक्षकले राजधानी नछाड्ने चेतावनी दिएको छ।

आन्दोलनका लागि शिक्षकहरू बस रिजर्भ गरेर जिल्ला-जिल्लाबाट काठमाडौं आएका छन्।

असोज ३, २०८० बुधबार ०७:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।