उकेरा टप फाइभ : त्रिचन्द्रको विद्यार्थीदेखि क्याम्पस प्रमुखसम्म बनेकी डा.निलमको सफलतादेखि दया-मिरुना जोडीको जादुसम्म

उकेरा टप फाइभ : त्रिचन्द्रको विद्यार्थीदेखि क्याम्पस प्रमुखसम्म बनेकी डा.निलमको सफलतादेखि दया-मिरुना जोडीको जादुसम्म

काठमाडौं : मंगलबार नेपाली कांग्रेसको डा. शेखर कोइरालाले पक्षधरको बैठक बस्यो। असोज ४ गतेबाट पार्टीको केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकअघि रणनीति तय गर्न शेखर कोइराला समूहको बैठक बालुवाटारमा बस्यो।

बैठकमा केन्द्रीय समिति बैठकको कार्यतालिकामा छलफल हुनुका साथै बैठकको निर्णयलाई कार्यान्वयन गराउनुपर्ने र पार्टीलाई थप क्रियाशिल पार्नेबारे वृहत मन्थन भएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले बताए।

मंगलबारै एमाले पार्टी कार्यालय च्यासलमा पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्यो। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा नेम्वाङको भूमिकाबारे प्रकाश पारे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले मंगलबार बिहान त्रिचन्द्र क्याम्पसकी पहिलो महिला प्रमुख प्रा.डा. निलम श्रेष्ठ प्रधानबारे समाचार लेख्यो। काठमाडौंको मरु टोलमा जन्मिएकी उनी कुनै समय यही क्याम्पसका विद्यार्थी थिइन्। पछि प्राध्यापक पनि भइन्। यहाँको भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक पनि हुन् उनी।
पूरा समाचारः त्रिचन्द्र क्याम्पसको पहिलो महिला प्रमुख डा. निलमः यसै क्याम्पसको विद्यार्थी, प्राध्यापक हुँदै नेतृत्वसम्म

दिउँसो उकेराले बुटवलको आधुनिक पशु बधशाला असोजदेखि सञ्चालन हुने सम्झौता भएसँगै पशु बध गराउन व्यवसायीहरू बधशालामा जाने वा नजानेबारे अन्योलमा देखिएको समाचार लेख्यो। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच सम्झौता भएसँगै यो अन्योलता छाएको हो।
पूरा समाचारः बधशाला विवादः उपमहानगर र व्यवसायी आमनेसामने

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ चौथो अंगमा मल्टिमिडियामा कार्यरत पत्रकार पुष्पा केसीको अनुभव समेट्यो। उनले नेपाली मिडियामा मुख्यगरी मल्टिमिडियामा लगानीकर्ताले लगानी नगरेको गुनासो पोखिन् भने पत्रकारले नियमित तलब नपाएको कुरा पनि गरिन्।
पूरा समाचारः चौथो अंगः अनलाइनको समाचारमा गुगलको फोटो तानेर भिडियो बनाउने काम मल्टिमिडियाको होइन, फिल्डमै उत्रिने हो

साँझपख उकेराले अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीको विषयमा समाचार लेख्यो। पछिल्लो सय कबड्डी–४ फिल्मपछि पर्दामा रुचाइएको यो जोडीलाई लिएर अहिले फिल्म बनाउनेको होड चलेको छ। ‘नाङ्गो गाउँ’को बक्स अफिस कलेक्सन रिपोर्टले ह्याट्रिक सहकार्यसँगै ह्याट्रिक हिटको रेकर्ड पनि बन्ने सम्भावना देखाइरहेको छ।
पूरा समाचारः दयाहाङ र मिरुनाको जोडीमा के जादु छ!

राति उकेराले ‘कैलाश मानसरोवर यात्रा’को तेस्रो भाग छाप्यो। जसमा केरुङमा बिताउनुपरेको दुई दिनको विषयमा स्तम्भकारले  आफ्नो अनुभव उतारेका छन्। उनले केरुङमा गरिएको कडाइ र दुई दिनसम्म अघोषित बन्धक बनाइएको विषय ब्लगा उल्लेख गरेका छन्।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा–३ः केरुङ शहरमा दुई रात अघोषित बन्धक

असोज २, २०८० मंगलबार २२:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।