चीनको हाङझावोमा प्रधानमन्त्री प्रचण्डले नेपाली खेलाडीसँग आँखा जुधाउन सक्लान् र!
काठमाडौं : भदौ २८ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई बिदाई गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भव्य कार्यक्रम भयो।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको कार्यक्रममा २९ खेलमा सहभागी हुने २ सय ५३ खेलाडीमध्ये अधिकांश खेलाडी उपस्थित थिए।
कार्यक्रममा सहभागीहरुलाई प्रधानमन्त्री प्रचण्डले उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गर्दै खेलाडीले पाउनुपर्ने पुरस्कारबापतको बक्यौता रकम दिने मात्रै भनेनन्, मिति नै तोके।
बिहीबारै अर्थ मन्त्रालयबाट रकम स्वीकृत भई खेलकुद मन्त्रालयमा रकम गएको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सबै पैसा निकासा गर्ने उनको दाबी थियो।
उनले खेलाडीसामू भने, ‘प्राविधिक र नीतिगत कारणले खेलाडीको रकम ढिला हुन गएकोमा म दुःख व्यक्त गर्न चाहन्छु। मैले नै घोषणा गरेको पुरस्कार नियमावलीका अभावका कारण निकासामा समस्या परेको थियो। अहिले त्यो नियमावली बनेको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै खेलुकद मन्त्रालयमा आइपुगेको छ। भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ।’
उनले यति भनेपछि खेलाडीहरू खुसी भए। परर ताली पड्काए। उनीहरूमा छुट्टै उत्साह थियो। क्याबिनेटको बैठक पनि बस्यो। तर प्रधानमन्त्रीले भनेको निर्णय भएन।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा त्यो अजेन्डा नै परेन। सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णयबारे शुक्रबार जानकारी दिँदा त्यसबारे केही जानकारी गराइनन्।
आइतबार अर्थात् ३१ गते मन्त्रिपरिषद्को विस्तृत निर्णय सार्वजनिक गरियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारकी प्रवक्ता शर्माले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा पनि खेलाडीले रकम पाउने विषय समावेश थिएन।
त्यहाँ खेलकुद मन्त्रालयको प्रस्तावमा जम्मा एउटा निर्णय भएको थियो- ‘१९औं एसियाली खेलकुदमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री र सचिवलाई स्वीकृति दिने।’
देशका लागि पदक ल्याउने खेलाडीको रकम निकासा गर्ने निर्णय रोकेर खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सचिव रविलाल पन्थले आफूहरूको भ्रमणको प्रस्ताव क्याबिनेटमा लगे। प्रधानमन्त्रीले त्यसलाई सदर गराए।
अघिल्लो दिन आफैँले गरेको प्रतिवद्धता प्रधानमन्त्री प्रचण्डले शुक्रबारै भुले वा वास्ता गरेनन्, त्यो उनैले जानून्। उनी आफ्नो वाचा थाँती राखेर शनिबार राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उडे। उनी त्यहिँबाट एसियाली खेलकुदको २३ सेम्टेम्बरमा हुने उद्घाटन समारोहमा सहभागी हुन चीनको हाङझावो पुग्दैछन्।
त्यहाँ नेपाली खेलाडीहरूसँग पक्कै पनि उनको भेट होला नै। देशको प्रधानमन्त्रीले बोलेको नि झुटो हुने रहेछ भन्ने प्रमाणित गरेका प्रचण्डले त्यहाँ नेपाली खेलाडीलाई के भन्लान्? कसरी आँखा जुधाउँदै हात मिलाउलान्?
असोज २, २०८० मंगलबार १७:५४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।