मंगोलिया र माल्दिभ्सलाई कमजोर ठानेका छैनौँ : मोन्टी देसाइ

मंगोलिया र माल्दिभ्सलाई कमजोर ठानेका छैनौँ : मोन्टी देसाइ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले मंगोलिया र माल्दिभ्सलाई कमजोर रुपमा नलिएको बताएका छन्।

एसियाली खेलकुदका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक देसाइले दुवै टोलीलाई कमजोर नलिएको बताएका हुन्।

फुल मेम्बर राष्ट्रले आफूलाई दिएको सम्मानजसरी नै एशोसिएट्स राष्ट्रले पनि नयाँ आउने क्रिकेट राष्ट्रलाई सम्मान गर्नुपर्ने उनले बताए। उनले नेपालले आफ्नो क्षमतामा क्रिकेट खेल्नेसमेत बताए।

टी–२० प्रतियोगितामा एउटा खेलाडीले राम्रो खेल्दा आफ्नो हातबाट खेल गुम्नसक्ने भएकाले कसैलाई पनि हल्का रूपमा लिन नहुने उनको भनाइ छ।

यस्तै मुख्य प्रशिक्षक देसाइले आफूलाई चीनको क्रिकेट सरफेसको बारेमा थाहा नभएको भन्दै त्यहाँको विकेटमा छिट्टै एडजस्ट हुनुपर्ने चुनौती रहेको बताए।

उनले भने, ‘मेरो लागि सबैभन्दा ठूलो चिन्ता यो हो कि म कहिल्यै चीन गएको छैन। कस्तो सतहमा ब्याटिङ हुनेछ। हाम्रा लागि त्यहाँको सरफेस ब्याटिङ मैत्रीपूर्ण छन् कि छैनन्। यदि छैनन् भने हामी कति चाँडै त्यहाँ एडजस्ट हुनसक्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ।’

असोज २, २०८० मंगलबार १६:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।