चौथो अंग : अनलाइनको समाचारमा गुगलको फोटो तानेर भिडियो बनाउने काम मल्टिमिडियाको होइन, फिल्डमै उत्रिने हो
स्थापित मिडियाका मल्टिमिडिया छन्। ‘अडियो, भिडियो र टेक्स्ट’मा सामग्री दिनुपर्ने हो तर त्यसरी काम गर्न सकेको देखिँदैन। मल्टिमिडियाले कसरी काम गर्छ यसको प्रभाव कतिसम्म पर्छ भन्ने नबुझेको हो की बुझ्न नचाहेका हुन् सम्पादक र लगानीकर्ताले मैले बुझिरहेको छैन। यदि लगानीकर्ता र सम्पादकले बुझ्थे भने मल्टिमिडियाको ‘टिम’ बन्थ्यो होला। तर, अधिकांश मिडियामा मल्टिमिडियालाई अनलाइनमा आएका सामग्री पढ्ने न हो भनेर हेरेको देखिन्छ।
मल्टिमिडियाको काम अनलाइनमा समाचार आइसकेपछि त्यही समाचारलाई गुगलबाट फोटो तानेर भिडियो बनाउने होइन, फिल्डमै उत्रिने हो। टिभीकै जस्तो हो नि काम त। के यसरी काम भएको छ त?
प्रोडक्सन पाटोमा हामीले प्रयोग गर्न सकिरहेका छैनौँ। जसको कारणले आचारसंहितामा नरहेका युट्युबरले समाजमा मिडियाको ‘आतंक’ फैलाइरहेका छन्। पत्रकारले बुझेर लेख्छन्, भिडियो देखाउँछन् भन्नेमा विश्वास कम हुँदै गएको छ। यद्यपि युट्युबमा नै समूहमा काम गरेको र पत्रकारिता आचारसंहिता पालना गरेर सामग्री दिएकाहरूको प्रभाव राम्रो पनि छ।
मल्टिमिडियाले अवसर गुमाउँदैछ
कक्षा ९ मा पढ्दा एक संस्थाले समाचार लेख्न तालिम दिएको थियो। त्यतिबेला दाङमा रेडियो तुलसीपुर र एक दैनिक पत्रिका थियो। त्यो तालिम लिएपछि मैले गाउँमा हुने गतिविधिको समाचार रेडियोमा टिपाउन थालेँ। आफ्नो नाम भनेर समाचार पढिन्थ्यो रेडियोमा। पछि संवाददाता नै भन्न थाल्यो।
एसएलसी दिएपछि भने केही समय पत्रकारिता गरिएन। ७० सालदेखि रेडियो, टेलिभिजन हुँदै हाल अनलाइनको मल्टिमिडियामा कार्यरत छु म। १० वर्ष पत्रकारिताको यात्रा गर्दा, मैले मिडियामा प्रवेश गर्दा रेडियोको प्रभाव ज्यादा थियो अहिले युट्युबको देखिन्छ। अनलाइन अहिले मूलधारको मिडिया त बनेको छ। तर, युट्युबका सामग्रीले गर्दा अनलाइन सामग्रीको कतिको पहुँचमा पुगेको छ भन्ने अर्काे बहशको पाटो होला।
जसरी अनलाइनमा समूहमा काम गरिन्छ, त्यसरी नै मल्टिमिडियामा समूह बनाएर प्रोडक्सनको काम गर्नसक्थे। तर सम्पादकले आइडिया नदिने अनि लगानीकर्ता लगानी गर्न डराएको हो कि जस्तो देखिन्छ। एउटा क्यामेरा र एउटा प्रिजेन्टर भएर मल्टिमिडिया चल्दैन। धेरैको त स्टुडियो पनि छैन। प्रोडक्सन त परको कुरा। लगानी नभएपछि स्रोतसम्म पुगेकै छैनन् मल्टिमिडिया। प्राय युट्युबरले आचारसंहिता पालना गरेका छैनन् तर उनीहरू स्रोतसम्म पुगेका छन्।
प्रधानमन्त्री निवास गएर रक्सी खाएँ, नेतासँगको पहुँच र शक्तिको नजिक थिएँ भनेर हिजोको पुस्ताले गर्व गरेको सुनिन्छ। अहिले पनि यस्ता तप्का नभएका होइनन् तर अहिले यो गर्व गर्ने नभएर लाजको विषय भएको छ।
हामी जो आचारसंहिता पालना गरेर पत्रकारिता गर्छाैं स्रोतसम्म पुग्ने हैसियत नै राख्दैनौँ। स्टुडियो अथवा मिडिया हाउसबाट बाहिर ननिस्की कन्टेन्ट कसरी आउँछ? अनि मल्टिमिडियाको काम अनलाइनमा समाचार आइसकेपछि त्यही समाचारलाई गुगलबाट फोटो तानेर भिडियो बनाउने होइन, फिल्डमै उत्रिने हो। टिभीकै जस्तो हो नि काम त। के यसरी काम भएको छ त?
टेलिभिजनमा धेरै खर्च हुने हुँदा मल्टिमिडियाको अवसर थियो र छ अझै पनि। तर सम्पादक र लगानीकर्ताले अलिकति गम्भीर भएर सोचिदिनुपर्याे। नयाँ पुस्तालाई विश्वास गरेर ‘तिम्रो आइडियाले काम गर’ भनेर वातावरण सिर्जना गरिदिए पनि हुन्छ।
‘गाइडेन्स’ नपाएर रुमल्लिएका नयाँ पुस्ता
पहिलेको मिडिया संरचना र अहिलेको मिडिया संरचना फरक हुँदै गइरहेको छ। पहिलेको मिडियामा इन्टर्नसिप, स्ट्रिन्जर, जुनियर रिपोर्टर, सिनियर रिपोर्टर, ब्यूरो चिफ, उपसम्पादक (डेस्क) त्यसपछि समाचार सम्पादक र बल्ल सम्पादक हुन्थे। लेयर थियो।
अहिले नेपाली मिडियामा लेयर लोप हुँदै गएको छ। यो लेयर हुँदा फाइदा धेरै थियो जस्तो लाग्छ। हाम्रो पुस्ताले यसको साह्रो अभाव महसुस गर्छ। अरुले कसरी काम गर्छन् बिटअनुसार कस्ता-कस्ता विषय उठान हुन्छन्, कस्तो समाचार लेख्यो भने बाइलाइन जान्छ, अथवा रेडियोमा बोल्न, टेलिभिजनमा कार्यक्रम गर्न पाइन्छ भनेर कार्यक्षमता बढाउँदै लैजान पाइन्थ्यो।
कडा प्रतिष्पर्धा हुन्थ्यो, जसले तिखार्थ्यो रिपोर्टरलाई। अति प्रतिष्पर्धा हुँदा राम्रो रिपोर्टरलाई माथि आउन नदिने हुन्थ्यो होला, यद्यपि धेरै सिकिन्थ्यो। हाम्रो पुस्ताले यो सिक्न पाएन। अनि नेतृत्वको विकास कसरी हुन्छ? यस्तो अवस्थामा लेखाउन चाहेको समाचार लेखिन्छ न की लेख्न चाहेको?
समयमा तलब नदिने मिडियाले गर्दा मेरो पुस्ताले मिडियामा भविष्य देख्न छाडेको छ। ‘बरु एक्लै मिडिया खोलौँ तर अर्काको काम नगरौँ’ भन्ने तहमा पुगेको छ।
हाम्रो पुस्तालाई अघिल्लो पुस्ताले गाइडेन्स गर्नुपर्ने हो तर अधिकांश अघिल्लो पुस्ताले हामीलाई यसै छाडिदिनुभयो। हामी कुहिरोको काग जस्ता भयौँ। नेताले पछिल्लो पुस्ता उत्पादन गरेनन् भनेर आलोचना गर्नुहुन्छ अग्रजहरू, आफूले खै त गरेको?
यद्यपि अहिलेको युवा पुस्ताको सामाजिक इश्युमा भने राम्रो पकड छ भन्ने मलाई लाग्छ। लैंगिक विभेदको विषयमा जातीय विभेदको विषयमा अघिल्लो पुस्ताले कम कलम चलायो। अहिले पनि यस्तो विषयमा उहाँहरूको कलम जाग्दैन। तर, हाम्रो पुस्तालाई पढेन भन्ने आरोप लगाए पनि सामाजिक इश्युमा भने अहिलेको पुस्तानै कम नश्लवादी पाउँछु।
प्रधानमन्त्री निवास गएर रक्सी खाएँ, नेतासँगको पहुँच र शक्तिको नजिक थिएँ भनेर हिजोको पुस्ताले गर्व गरेको सुनिन्छ। अहिले पनि यस्ता तप्का नभएका होइनन् तर अहिले यो गर्व गर्ने नभएर लाजको विषय भएको छ।
हाम्रो पुस्ताको केही पत्रकारले राजनीतिक दलबाट पर, विषयवस्तुमा दक्षता र सामाजिक इश्युमा खरो रूपमा बोलिरहेको छ, लेखिरहेको छ। तर यसमा पनि समस्या देखिन्छ, लगानी छैन। समयमा तलब नदिने मिडियाले गर्दा मेरो पुस्ताले मिडियामा भविष्य देख्न छाडेको छ। ‘बरु एक्लै मिडिया खोलौँ तर अर्काको काम नगरौँ’ भन्ने तहमा पुगेको छ।
अविवाहित महिला पत्रकार विवाह गरेपछि बच्चा जन्माउने समयमा नेपाली मिडियाले उसको अवस्था हेरेर काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने हो कि असहयोग?
यसको दोष के लगानीकर्ताको मात्रै हो या समाचार कक्ष लिड गर्नेको पनि हो? यस्तो अवस्था किन आयो? सामूहिक काम गर्नुपर्ने मिडियाकर्मी किन एक्लै काम गरौँ भन्ने अवस्थामा पुगे? चाहिएको सामग्रीमा अध्ययन अनुसन्धान गर्न र जीविका चलाउनै सकस हुनुपर्ने स्थीति किन आयो?
यसको अर्थ मैले अग्रजलाई दोष लगाएको होइन। उहाँहरूले गर्नैपर्छ भन्ने बाध्यकारी अवस्था पनि होइन तर आग्रह चाहिँ हो। नेपाली पत्रकारितामा गाइडेन्सको अभाव छ। जसले गर्दा समावेशिता सन्तुलित विचारधारा प्रवाहमा समस्या देखिएको छ। समाजमा विग्रह आउँदा मिडियाले कस्तो भूमिका खेल्नुपर्छ भन्ने त हामीले अग्रजबाटै सिक्ने हो नि, होइन र?
मिडिया लैंगिकमैत्री छैनन्
महिलाहरूले सन्तान जन्माउनु प्राकृतिक कुरा हो। तर मिडियाले यसलाई स्वीकार्न सकेको छैन। म एउटा उदाहरण दिन्छु, सामान्यतया विवाह भएपछि हाम्रो समाजमा महिलाले बच्चा जन्माउँछन्। अविवाहित महिला पत्रकार विवाह गरेपछि बच्चा जन्माउने पिरियडमा नेपाली मिडियाले उसको अवस्था हेरेर काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने हो कि असहयोग?
अधिकांश मिडियामा असहयोग भयो भन्छन् साथीहरू। अन्य काम गर्ने क्षेत्रमा चाइल्ड केयरको मुद्दा उठाउने मिडियाले आफू काम गर्ने मिडियामा यो व्यवस्था गरेका छन्? त्यस्तै अझै पनि मिडियामा महिलाका मुद्दाका बारे लेख्न खारिएको रिपोर्टरले नभइ सुरुवाती रिपोर्टरलाई अह्राइन्छ।
एकाध समस्या, जुन नेतृत्वले चाह्यो भने सहजै हल गर्न सकिन्छ। समयमा तलब दिने र कामप्रति उत्साह दिने हो भने आधा समस्या हल हुन्छ।
उत्पीडनमा परिएका समुदायप्रति हाम्रो मिडिया कति अनुदार हुन्? अग्रजहरूले सामाजिक मुद्दामा पहिलेदेखि राजनीतिमा जस्तै उठाइदिएको भए यो मुद्दाहरू पनि राष्ट्रिय स्तरको हुन्थे की? हाम्रो पुस्ताले प्रमुख गर्नुपर्ने संघर्ष भनेकै सामाजिक मुद्दालाई राष्ट्रिय स्तरको बनाउने हो।
पछिल्लो समय मिडियाप्रति अविश्वास बढेर गएको छ। त्यो विश्वास आर्जन गर्न हाम्रो पुस्ताले धेरै काम गर्नुपर्ने जरुरी देख्छु। हिजोको पुस्ताले गरेको गल्तीबाट पाठ सिक्दै हाम्रो पुस्ताले काम गर्नुपर्छ।
पाठकलाई लाग्न सक्छ अहिलेको युवा पुस्ता पत्रकारिता प्रति वितृष्णा छ। कुरा त्यसो होइन है, वितृष्णा हाम्रो समाजमा जताततै छ। यसको असर पत्रकारितामा पनि स्वभाविक रूपमा परेको छ नै। तर, मलाई भने पत्रकारिता एकदमै धेरै सम्भावना भएको क्षेत्र हो भन्ने लाग्छ।
एकाध समस्या, जुन नेतृत्वले चाह्यो भने सहजै हल गर्न सकिन्छ। समयमा तलब दिने र कामप्रति उत्साह दिने हो भने आधा समस्या हल हुन्छ। हामीले आचारसंहितामा रहेर काम गर्दा सत्ता र नागरिकको पुलको काम गर्न सक्छौँ नै, सँगै समाज बुझ्न पनि सक्छौँ।
(इमेजन्यूज एफएम, नेपाल जापान डटकम, जनता टेलिभिजनमा काम गरिसकेकी केसी हाल नेपाल लाइभको मल्टिमिडियामा काम गर्छिन्। उनैसँग मल्टिमिडियामा ‘नेपाली मल्टिमिडिया र युवा पुस्ताको दृष्टिकोणमा नेपाली मिडिया’ शिर्षकमा प्रजु पन्तले गरेको कुराकानी)
चौथो अंगका पुराना श्रृंखला
असोज २, २०८० मंगलबार १५:५८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।