दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने सर्वा अर्बको पनि भएन

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने सर्वा अर्बको पनि भएन

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ।

यसअघिका दुई अघिल्ला कारोबार दिन पनि बढेको बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको हो।

मंगलबार नेप्से १६.२४ अंकले बढेर १०८५.४३ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स २.४३ अंकले बढेर ३८१.१७ विन्दुमा चढ्यो।

कारोबार उपसूचक होटल तथा पर्यटन र व्यापारबाहेक सबैमा हरियाली छायो। सबैभन्दा बढी जलविद्युत् समूह ३ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

मंगलबार दोहोरो अंकले बजार बढे पनि कारोबार भने अपेक्षित हुन सकेन। २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा यसदिन १ अर्ब १७ करोड ६६ लाख रुपैयाँको कारोबार भयो।

सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा हुँदा ओरियन्टल होल दोस्रो र एनआईसी एसिया बैंक तेस्रो स्थानमा छन्। यिनीहरूले क्रमशः १० करोड, ४ करोड र ३ करोडको कारोबार गरे।

यसैगरी मंगलबार नै सात कम्पनीको शेयर ९ प्रतिशत भन्दा बढीले बढ्यो।

शुभम पावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावर लिमिटेड, मेन्छियम हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, अभियान लघुवित्त, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रोको शेयर ९ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढ्यो।

असोज २, २०८० मंगलबार १५:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।