च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि, लिगमा मेस्सी वा रोनाल्डो नभएको २२ वर्षमा यो पहिलोपटक
एजेन्सी : क्लब फुटबलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन (२०२३/२४) आज मंगलबार रातिदेखि सुरु हुँदैछ।
यो पटक विश्व फुटबलका हालका सर्वाधिक चर्चित दुई स्टार मेस्सी र रोनाल्डो भने च्याम्पियन्स लिगमा हुने छैनन्। मेस्सी वा रोनाल्डो मध्ये एक खेलाडी पनि नभएको गत २२ वर्षमा यो पहिलो च्याम्पियन्स लिग हो।
यसअघि सन् २००१/०२ सिजनमा यस्तो भएको थियो। सन् २००२/०३ सिजनदेखि रोनाल्डोले स्पोर्टिङ लिजवनबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए भने मेस्सीले सन् २००४/०५ मा बार्सिलोनाबाट।
यसपछि लगातार रुपमा यी दुई स्टार मध्ये कम्तीमा एक खेलाडी हरेक संस्करणको च्याम्पियन्स लिगमा सहभागी थिए।
तर गत वर्ष मेस्सीले फ्रेन्च कल्ब पीएसजी छाडेर अमेरिका गएपछि च्याम्पियन्स लिगमा यी दुईको युग समाप्त भयो। रोनाल्डो पनि गत सिजन नै म्यान्चेस्टर युनाइटेड छाडेर साउदी क्लबमा गइसकेका छन्।
आज च्याम्पियन्स लिगमा साबिक विजेता इंग्लिस म्यानचेस्टर सिटी उपाधि रक्षा गर्ने तयारीमा आज रेड स्टार बेलग्रेडविरुद्ध भिड्दै छ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुँदैछ।
असोज २, २०८० मंगलबार १३:२८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।