गणेशमान सिंहको २६औं स्मृति दिवस आज मनाइँदै

गणेशमान सिंहको २६औं स्मृति दिवस आज मनाइँदै

काठमाडौं : प्रजातन्त्र पुनःस्थापनाका लागि भएको वि.सं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औं स्मृति दिवस आज (मंगलबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। 

वि. सं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटी स्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो।

काठमाडौंको खानदानी परिवारमा जन्मिका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन विरुद्धको अभियानमा आफूलाई सक्रिय बनाएका थिए। 

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायतलाई तत्कालीन सरकारले जेल हालेक थियो। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए। 

वि. सं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालको आन्दोलनमा रह्यो। 

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर थिए।

असोज २, २०८० मंगलबार १२:१७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।