क्यानडाली कूटनीतिज्ञलाई भारत छाड्न उर्दी, दुई देशबीचको सम्बन्ध थप पेचिलो बन्दै

क्यानडाली कूटनीतिज्ञलाई भारत छाड्न उर्दी, दुई देशबीचको सम्बन्ध थप पेचिलो बन्दै
तस्बिर : एजेन्सी

एजेन्सी : क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोप लगाउँदै भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न उर्दी जारी गरेको छ। 

जसकारण क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ।

मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको छ।

‘भारतका लागि क्यानडाका उच्चायुक्तलाई बोलाएर भारतमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराइएको छ। सम्बन्धित कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न भनिएको छ’, भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए।

उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए।

गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो।

प्रधानमन्त्रीले संसदमा संवोधन गरेलगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन्। ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनन्।

भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ। भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ।’

असोज २, २०८० मंगलबार १२:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।