उकेरा टप फाइभ : डाक्टरको हिंसात्मक अभिव्यक्तिदेखि पत्रकार र पूर्वआईजीपी जोगाउने सीआईबीको अनुसन्धानसम्म

उकेरा टप फाइभ : डाक्टरको हिंसात्मक अभिव्यक्तिदेखि पत्रकार र पूर्वआईजीपी जोगाउने सीआईबीको अनुसन्धानसम्म

काठमाडौं : सोमबार भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) महादेवको पूजा आराधना गरी मनाइयो। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका आधारमा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्यो।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन त्यसतर्फ गएका उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको बताए।

सोमबारै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ स्थगित भयो। न्यायाधीश बिदामा बसेपछि उनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ स्थगित भयो।

सोमबारबाट मुस्ताङमा स्याउ टिप्न सुरु भयो भने राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन सुरु गर्(यो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले सोमबार बिहान हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीलाई भदौ २७ गते आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका डाक्टरहरूले अराजक अभिव्यक्ति दिएको समाचार लेख्यो। नेपाल मेडिकल एण्ड डेण्टल कलेज एशोसियसनमा अध्यक्ष तथा बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मानसिंह कार्कीलै सिरुपाते खुकुरीले काट्ने भन्दै हिंसात्मक अभिव्यक्ति दिएका हुन्।
पूरा समाचारः डाक्टरले यस्तो अभिव्यक्ति दिन मिल्छ?– ‘अब सिरूपाते खुकुरीले काट्नेदेखि केमिकलको गोला पड्काएर गाउँ नै नबस्ने बनाइदिनेसम्म’

सोमबार बिहान नै उकेराले हरितालिका तीजको अवसरमा पाल्पा रामपुरकी कलाकार लक्ष्मी तिवारीबारे फिचर लेख्यो। गाउँले परिवेशका विषयलाई गीतमार्फत प्रस्तुत गर्ने लक्ष्मी तिवारी ‘तिवारी आमा’की नामबाट परिचित छन्।
पूरा समाचारः तीज विशेषः उमेरले ६ दशक काटिसकेको ‘तिवारी आमा’, गाउँले भाकाका गीतबाट चर्चा बटुल्दै

दिउँसो उकेराले फिल्म ‘एक भागवत, एक गीता’को समीक्षा प्रकाशित गर्यो। समीक्षामा फिल्मका राम्रा र नराम्रा पक्षका बारेमा लेखिएको छ। समीक्षकले फिल्मकी निर्देशक झरना थापालाई छोरी सुहानालाई पात्रको रूपमा भन्दा छोरीको रूपमा बढी महत्व दिएको समीक्षामा उल्लेख छ।
पूरा समाचारः एक भागवत र एक गीताः विपिनको सट्टा सुहानालाई केन्द्रीय पात्र बनाउने लोभमा डुबेको फिल्म

अपरान्ह उकेराले आफ्नो नियमित स्तम्भ भुइँमान्छे प्रकाशित गर्यो। जसमा विगत ३८ वर्षदेखि भारतको रक्सौलबाट नेपाल आएर काठमाडौंमा घर बनाइरहेका मोहरलाल दासको अनुभव समेट्यो। उनले काठमाडौंको बसाइदेखि घरपरिवार र बिहेबारीसम्मको व्यावहारिक कुरा बताएका छन्।
पूरा समाचारः ३८ वर्षदेखि काठमाडौंमा घर ठड्याइरहेका मोहरलालः सात सन्तान जन्माउने भनेर जन्माएनन्, आफैँ भयो रे!

साँझ उकेराले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झेल गरेको समाचार लेख्यो। पत्रकार र पूर्वआईजीपीलाई जोगाउनका लागि प्रहरीले यस्तो गरेको समाचारमा उल्लेख छ। समाचारमा उनीहरूबीचको सम्बन्धलाई पुष्टि गर्ने आधारहरूसमेत समावेश गरिएको छ।
पूरा समाचारः सुन तस्करी समूहका ‘मियो’ जीवनलाई नियन्त्रणमा लिएर पनि फरार बनायो सीआईबीले, शंकामा पूर्व आईजीपीसम्म

असोज १, २०८० सोमबार २२:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।