पाँच नागरिक छुटाउन अमेरिकाद्वारा छ अर्ब डलर निकासा
एजेन्सी : इरानको कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर दिएको छ।
अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो। अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको समाचार संस्था एपीएफले जनाएको छ।
अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो। सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन।
आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो।
वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको हो।
तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकी अनुसार अमेरिकामा हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिनेछ।
कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई स्विट्जरल्याण्डबाट छ अर्ब डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ।
पाँच अमेरिकी नागरिक र दुई जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीहरूले बताएका छन्।
तेहरानले पक्राउ गरेका पाँच जना इरानी मूलका अमेरिकी हुन्। इरानमा बन्दी बनाइएका अमेरिकीहरू मध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोपमा लगाइएको थियो।
हिरासतमा रहेका अन्य वन्यजन्तु संरक्षणवादी हुन्। अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का दुई जना इरानी सेनासँग सम्बन्ध भएको तथा दुई जनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाएको थियो।
असोज १, २०८० सोमबार १९:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।