३८ वर्षदेखि काठमाडौंमा घर ठड्याइरहेका मोहरलाल : सात सन्तान जन्माउने भनेर जन्माएनन्, आफैँ भयो रे !
तुलनात्मक रूपमा ठण्डा हावापानीमा रम्न १८ वर्षीय मोहरलाल दास काठमाडौं आए। भारतको रक्सौलको गर्मीमा बस्ने बानी लागेका उनलाई यहाँ आउँदा रमाइलै लाग्यो। नयाँ ठाउँ, नयाँ मान्छे अनि नयाँ भाषा। नेपाली बोल्न फिटिक्कै जानेका थिएनन् उनले। आफ्नो नातेदारबाहेक अरूसँग दोहोरो संवाद गर्न उनलाई निकै सकस हुन्थ्यो।
तर, त्यसबेला नेपालमा हिन्दी फिल्मको खुब चर्चा हुन्थ्यो अनि नेपालीले हेर्थे पनि। त्यहि भएर शहर क्षेत्रका अधिकांश नेपालीले टुटेफुटेको हिन्दी बोल्थे। अनि कोहि इन्डियन छ भने त कनिकुथी भए पनि बोल्ने प्रयास गर्थे। त्यति भएपछि उनलाई के चाहियो र! उनलाई नेपाली सिकिराख्नै परेन। त्यहि भएर यतिका समय काठमाडौं बसेर काम गर्दा पनि उनको नेपाली प्रष्ट हुन सकेको छैन।
‘त्यो बेला हमने नेपाली बोल्न भन्दा नेपालीहरू नै पहिला हिन्दीमा बोल्छ। अनि हामीलाई त झन् सजिलो हुन्छ। अहिले बरू नेपाली सब बुझ्छ। तर, पनि हिन्दीमै सजिलो लाग्ने भइसक्यो,’ त्यसबेला नेपाली भाषा नजाने पनि सबैले कुरा बुझेको स्मरण गर्दै उनी भन्छन्, ‘सबै हाम्लाई देखेपछि आपसे आप हिन्दी बोल्छ। त्यैभर भाषाको कारण त कहिले पनि गाह्रो भएन।’
गाउँमा खेतीपाती गरिरहेका मोहरलालका आमाबा किसान नै थिए। खेतीपाती गरेर कमाउँदा खान मात्रै ठिक्क भएपछि उनले पैसा कमाउने उपायबारे सोचे। काठमाडौंमा भएको ठेक्कापट्टा गर्ने दाइलाई सम्झिए र हानिए काठमाडौं।
‘उनीहरूले धेरै पैसा कमाएको देखेँ। अनि यता खेतीबारी गर्नुभन्दा म पनि ज्यामी काम गर्छु भनेर आएको,’ उनी सुनाउँदै गए, ‘इँटा बोक्ने काम गरेँ, प्लास्टर गरेँ, मिस्त्री भएँ अनि अहिले त आफैँ ठेक्का लिएर काम गर्ने गर्छु।’
पछि उनलाई यहाँको हावापानी निकै रमाइलो लाग्यो रे। ट्रकमा आएको थकित शरीर लिएर उनी त्यस दिन दाइको कोठामै निदाए। भोलि पल्टदेखि भने टंकेश्वरमा कोठा लिए अनि काम थालिहाले।
सुरू-सुरूमा काम गर्दा दिनको १५ रूपैयाँ ज्याला पाएको उनी अहिले पनि सम्झिन्छन्। आफ्नै दाइ ठेकेदार भएकाले कामको कमी भएन उनलाई। आठ वर्ष मिस्त्री नै भएर काम गरे। ३२ वर्षको उमेरसम्म त उनले गाउँमा आफ्नो घर पनि बनाइसकेका थिए। अहिले उनको श्रीमती र छोराछोरी सबै उतै बस्छन्।
तर, मोहरलाल भने अझै पनि काठमाडौंमै घर ठड्याइरहन्छन्। एक अक्षर नजाने पनि उनले आफ्नो हिसाब भने सबै गर्छन्। आफू नपढे पनि आफ्नो सात सन्तानलाई एसएलसीसम्म पढाउन भने भ्याए।
‘पढेको केहि छैन। सब अनुभव से गरेको। पहिला पढ्ने मन भएन। तर, पनि यति हिसाब चैँ कहाँ बाट जानेछ’, उनले हाँस्दै भने।
‘काठमाडौंले धेरै कुरा दियो’
१८ वर्षको उमेरमा काठमाडौं आएका उनका अहिले सात सन्तानकै बिहे भइसक्यो। यो सबको खर्च काठमाडौंले दिएको उनी बताउँछन्।
‘हामीले यहाँ काम धेरै पायो। पैसा पनि टन्न पायो। तर, सबै बच्चालाई पढाएर उनीहरूको बिहे गरेर सक्यो। पहिला नै बिहे गर्नेहरूकोमा त धेरै खर्च भएन तर, पछि दुई जना छोरीको बिहेमा चैँ १२ लाख र १३ लाख खर्च भयो। सबै काठमाडौंले दिएको त हो!,’ बोल्दा-बोल्दै उनी भावुक सुनिए।
छोरीहरूको बिहेमा खर्च भए पनि मोहरलाल आफू र छोराहरूको बिहेमा दाइजो नलिगेको बताउँछन्।
‘पछि ससुराले एक सय पचास दिएको थियो। बिहेपछि जाने बेला। नत्र हामीले मागेन,’ उनले सम्झिए, ‘छोराहरूको बिहे गर्दा पनि हामीले मागेन। उनीहरूले इच्छाले दिएको चैँ लियौँ। तर, छोरीको बेला धेरै दिनैपर्यो।’
त्यति धेरै बच्चा किन जन्माउनुभएको त? भन्ने प्रश्नमा उनले भने, ‘जन्माउने भनेर जन्माएन। आफैँ भयो। तर, पनि मेरो बुढी धेरै बलियो छ। उताको आफ्नै बारीको खाना, दूध हुन्छ। बच्चाहरू पनि सब आफैँले हुर्कायो।’
उनी अहिले पनि काठमाडौंमा एक्लै नै बस्छन्। सबेरै उठेर पूजापाठ गरेर खाजा खान्छन् अनि काममा लागिहाल्छन्। बेलुका मात्र फर्कन्छन्। यसरी नै उनले यहाँ ३८ वर्ष बिताइसके। अहिले भने एक महिना बिराएर गाउँ जान थालेका छन्।
आफ्नो काम सजिलै मान्ने मोहरलाललाई आजकल अल्छी लाग्न थालेको छ। काम पनि पहिलाको जस्तो नभएको उनी बताउँछन्।
‘अब ५६ वर्ष भइसक्यो। पहिलाको जस्तो कामनै छैन। अहिले यहाँको माहोल नै खराब छ। कसैको पैसा छैन। कसैको व्यापार छैन। कसैको केहि पनि छैन। यस्तो बेलामा मेरो काम कम हुनु के भयो र!,’ उनी भन्छन्, ‘पहिला कम पैसा कमाउँथ्यो। त्यै पनि आनन्द थ्यो। अहिले धेरै पैसा कमाउँछ तर पनि आनन्द छैन।’
मोहरलाललाई सबैभन्दा काम गर्न असजिलो चाहिँ चर्को घाममा हुन्छ रे। बरु झमझम पानी परेको समयमा खासै असजिलो लाग्दैन भन्छन् उनी।
‘गाह्रो भनेर त्यस्तो गाह्रो पनि हैन, अनि सजिलो भनेर फेरि सजिलो पनि छैन। जस्तो भए पनि मिहेनत खुब पर्छ।’
कुनै समय ७०/८० जना मिस्त्री उनको सम्पर्कमा आउने गरेकोमा अहिले भने जम्मा १५ जना मात्र छन्। उनका अनुसार अहिलेसम्म सबैभन्दा धेरै घर बनाउने काम भूकम्पको समयमा आएको थियो। त्यसबेला भत्किएको घर बनाउनेदेखि नयाँ घर धेरै बनाए उनले।
देशमा लामो समय लकडाउन हुँदा पनि उनको काममा भने कुनै असर गरेनछ। घर बनाइराखे मोहरलालले।
अहिलेसम्म काठमाडौंमा कति घर बनाए भनेर लेखाजोखा राखेका छैनन् उनले। तर, ‘हजार भन्दा बढी भयो कि!’ भन्ने गर्छन्। पछिल्लो समय छोराहरूले घरमै बसेर काम गर्न बोलाइसकेका छन्। तर, उनी जाँदैनन्। ज्यानले सकेसम्म काठमाडौंमै बसेर काम गर्न चाहन्छन् उनी।
उनले भने, ‘अहिले त यहाँ काम राम्रै चलिराको छ नि! म त्यहाँ किन जाने। पछि शरीरले काम नै गरेन भने चैँ गएर किराना दोकान खोल्ने कि भन्ने विचार आएको छ। तर, अहिले नजाने। छोराहरू पैसा माग्यो भने गनेर बस्छ। अस्ति भर्खर देको होइन भन्छ। त्यस्तो सुन्न किन जाने?’
आफ्नो पूरै बल यहिँ खर्चेर रक्सौल जाने उनको योजना छ। काम गर्न सकुन्जेल भने जाने मुडमा छैनन्।
‘जाने त जाने। त्यै भएर त उता घर बनाएको। तर, चलिराछ, कमाइराछ। कहिलेकहिँ टेन्सन हुन्छ। तर, जिन्दगीमा ऐश नै ऐश छ। किन कि काम छ। त्यहि भएर हम धेरै खुश छ। मिस्त्रीदेखि ठेकेदारसम्म काम करते गएछु। आफ्नो काम गरेर दुई रूपैयाँ मात्र कमायो भने पनि खुशी हुने रहेछ’, कुराकानीलाई बिट मार्दै गर्दा उनले भने।
असोज १, २०८० सोमबार १७:३४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।