एक भागवत र एक गीता : विपिनको सट्टा सुहानालाई केन्द्रीय पात्र बनाउने लोभमा खस्किएको फिल्म
फिल्ममा लैङ्गिक अल्पसंख्यक समुदायका पात्र नौलो हैन। तर, अधिकांश पात्रहरू हाँस्य पात्रको रूपमा प्रस्तुत हुँदै आएका थिए। उनीहरूलाई नै केन्द्रमा राखेर सकारात्मक दृष्टिकणबाट बनेका फिल्म कमै छन्।
प्रेमकथाका फिल्म बनाउन केन्द्रीत झरना थापा समूहले यसपटक नौलो कथाको चयन गर्दै यौनिक अल्पसंख्यक समुदायको विषयमा फिल्म निर्माण गर्यो ‘एक भगवत् र एक गीता’जहाँ कथा र पात्रहरु यही समुदायका छन्।
समाजमा महिला र पुरुष मात्र छैनन्, अझ हिन्दु संस्कृति र धर्म ग्रन्थहरूमै लैङ्गिक अल्पसंख्यकहरूको उपस्थितिलाई स्वीकार गरिएको छ। तर, समाज अझै उदार बन्न सकेको छैन उनीहरूप्रति। अन्य लिङ्गीजस्तै उनीहरूलाई पनि समाजमा सम्मानजनक रूपमा बाँच्न पाउने अनि जीवन बिताउन पाउने अधिकार छ। यसमा समाजदेखि अदालतसम्म अनुदार देखिएका छन्।
महिलाको शरीरमा जन्मिएकाहरूमा पुरुषको गुण हुनु अनि पुरुषको शरीरमा जन्मिएकाहरूमा महिलाको गुण हुनु अभिसाप हैन प्राकृतिक नै हो भन्ने समाजले अझै बुझ्न चाहेको छैन। ‘एक भागवत र एक गीता’ले यस्तै सकारात्मक कथा बोकेको छ।
मूल कथा लैङ्गिक अल्पसंख्यक भए पनि फिल्ममा उपकथाहरू जोडिएको छ। यसमा संघर्ष, प्रेम र समर्पण सबै समेट्ने प्रयास गरेकी छन् निर्देशकले। जसले फिल्मको कथा बहकिएको छ। केन्द्रीय पात्रमा निर्देशक चुकेकी छिन्।
अब यसको कथासारमा जाउँ। नाममै धेरै विवाद भएको यो फिल्मको नाम धर्मसँग कता-कता जोडिएझैँ लागे पनि यो धार्मिक नभई सामाजिक कथा हो। गीता(सुहाना थापा) अनि भगवत् (जेभिस र जेनिस श्रेष्ठ)को सम्बन्धको कथा हो। यसमा न धार्मिक ग्रन्थ गीताको कुनै सम्बन्ध छ न त भगवतको।
फिल्ममा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेकी छन् कमलामाई (विपिन कार्की)ले। प्रारम्भमा पुरुषको शरीरमा जन्मिएका कमलामाईको मन महिलाको हुन्छ। उनी महिलाको भेषमा रमाउँछिन्। स्वभाव उस्तै छ। उनलाई महिलाको भेषमा नाच्न मन पर्छ। श्रृंगारमा लिपिस्टिक उनको प्रिय।
गाउँलेले उनलाई स्विकार गर्न सक्दैन। उनी गाउँमा अपमानित भएर जनकपुर झरेर कमलामाई बन्छन् र सम्मानित जीवन बिताउँछिन्।
गीता (सुहाना थापा)जंगलमा फेला परेकी बच्ची हुन्। स्थानीय धनाढ्य परिवारको बालक हुन् ‘भगवत’(जेभिस र जेनिस), जो महिलाको पहिरनमा रमाउँछन्।
कथामा ठूलो भगवत् (धिरज मगर) र गीताको प्रेम कथा पनि जोडिएको छ। जनकपुर मात्रै हैन, पोखरा पनि अटाएको छ फिल्ममा।
आखिर कमलामाईको अवतारमा कसरी जनकपुर आइपुगे विपिन, गीता बनेकी सुहाना र ठूलो भगवत् बनेका धिरजबीचको प्रेम के हुन्छ? अनि परिवारले कुनै हालतमा पनि आफ्नो छोरा लैङ्गिक अल्पसंख्यक भएको नस्वीकार्ने सानो भगवत्को परिवारको मन बदलिन्छ या बदलिँदैन? फिल्म यही कथा वरिपरी घुमेको छ।
फिल्मको पात्र चयनमा निर्देशक सफल देखिन्छिन्। विपिन कार्की, सुहाना थापा, धिरज मगर अनि दुई बाल कलाकारको अभिनय आँखा बिझाउँदैन।
फरक पात्रमा अभिनय गर्न रुचाउने विपिनको कमलामाई अवतार बलियो छ। शारीरिक अभिनय मात्र हैन भावभङ्गीसम्ममा उनले ध्यान दिएका छन्। कलाकारको कमजोर पक्ष लुकाउँदै ‘झिँझिया’ गीतमा विपिनलाई नचाउने गल्तीबाट जोगिएकी छिन् निर्देशक।
सुहाना पात्र अनुसारको अभिनयमा फिट छिन्। दुई बाल कलाकारले राम्रो अभिनय गरेका छन्। सहायक कलाकारहरूको अभिनय पनि छ्या भन्नुपर्ने खालको छैन। अभिनय फिट छ तर यो फिल्मको सबैभन्दा ठूलो समस्या कथा वाचन र पात्रको चरित्र निर्माण हो।
कुन पात्र प्रधान बनाउने भन्नेमा निर्देशक अल्मलिँदा फिल्म पनि अल्मलिएको छ। यो कस्को कथा हो? कमलमाईको हो कि गीताको या भगवतको? पूरै अलमल छ। विषय लैंगिक अल्पसंख्याकहरुको सम्मानित जीवनको पक्षमा हो। तर त्यसलाई डेर्याउन समूह हैन केन्द्रिय पात्र आवश्यक पर्छ। त्यही पात्रको कमी छ फिल्ममा।
लैंगिक अल्पसंख्यप्रति समाजको दृष्टिकोण, उनीहरूले समाजमा सम्मानजनक उपस्थितिका लागि गरेको संघर्षलाई देखाउँदा-देखाउँदै गीता बनेकी सुहाना र ठूलो भगवत् बनेका धिरजको प्रेम सम्बन्धको उपकथा किन? सुहाना र धिरजको फुटेज बढाउने बाहेक फिल्मलाई अगाडि बढाउन त्यसले सघाएको छैन।
फिल्मको कथालाई वीपिनको चरित्रले अगाडि बढाउनसक्थ्यो। त्यसमा सुहाना, सानो भगवत (जेबिस र जेभिन श्रेष्ठ)हरुले सहयोग गर्नसक्थे। वा भगवत्मार्फत पनि कथा अगाडि बढाउन सकिन्थ्यो। तर सुहानालाई हावी गराउने गल्ती गरिन् निर्देशकले।
कमलामाई बनेका विपिनमार्फत कथा अगाडि बढाएको भए फिल्मका अधिकांश कमजोरी कम हुनसक्थ्यो। तर, विपिनलाई केन्द्रीय पात्र बनाउँदा कतै छोरी सुहाना ओझेलमा पो पर्ने हो कि भनेर निर्देशक झरनाले उनलाई पनि कथामा मुख्य पात्र बनाउने प्रयास गर्दा कथा चिप्लियो। निर्देशक अल्मलिइन। अब निर्देशक अल्मलिएपछि फिल्म अल्मलिने नै भयो।
‘कसरी बाँच्ने त्यसको निर्णय गर्ने अधिकार समाज अनि परिवारको हैन व्यक्ति आफ्नै हो’ भन्ने कथाको सार देखिन्छ। कथासार बलियो हो। तर, कार्यान्वयन पक्ष कमजोर भयो। फिल्ममा उपकथाहरू जोडेर अनावश्यक रूपमा लम्ब्याउने प्रयास गर्दा अब्बल बन्नसक्ने फिल्म फितलो बन्यो।
अधिकांश मैथिली भाषाको प्रयोग गरिएकाले मैथिली नबुझ्ने दर्शक हलमा ट्वाँ परेको देखियो। अधिकांश नेपाली फिल्मका दर्शक हिन्दी फिल्मका दर्शकसमेत हुन्।
सायद यही सोचेर मैथिली संवादलाई निर्देशकले राम्रै स्थान दिएको हुनसक्छ। तर, मैथली र हिन्दी भाषा अलग हुन्, हिन्दी बुझ्नेले मैथिली नबुझ्न नि सक्छन् भन्ने बुझ्न सकिनन् निर्देशकले।
त्यसैको प्रभाव होला, मध्यान्तर नहुँदासम्म दर्शक हलमा हाइ काढ्न थालिसक्छन्। पहिलो हाफ धानेका दर्शक दोश्रो हाफसम्म टिके भने फिल्मले केही गति समात्दा हलको सिटमा टिक्न सक्छन्।
फिल्मको ब्याकग्राउड म्युजिक झर्कोलाग्दो लाग्छ। लाउड म्युजिक बनाउँदैमा फिल्म राम्रो हुन्छ भन्ने मानसिकता निर्देशकमा हावी देखियो। फिल्मको कथा अनुसार गीत सुहाउँदो देखिएको छैन। कुन गीत कुन प्रसङ्गमा आएको हो दर्शले ठम्याउनै सक्दैनन्।
विपिनको अभिनयपछि फिल्मको सबैभन्दा राम्रो पक्ष छायांकन हो। जनकपुर अनि पोखरा नेपालीका लागि नयाँ दृश्य हैनन्। तर, फिल्ममा अहो यति राम्रो छ र भन्नेपर्नेगरी देखाइएको छ।
सम्पादनको जिम्मा लिएका मित्र डि गुरुङले ठिकै काम गरेका छन्। फिल्ममा उनको मेहनत देखिन्छ।
झरना थापामा देखिएको सबैभन्दा ठूलो कमजोरी फिल्म निर्देशनको क्रममा गीता बनेकी छोरी सुहानालाई फिल्मको पात्रको रूपमा स्वीकार गर्न नसकी छोरीकै रूपमै प्रस्तुत गर्ने प्रयास गर्नु हो। उनको आमाको मनमा छोरीको अभिनय यात्राको चिन्ताले सताउँदा फिल्मको कथा नै अलमलियो।
सुहानालाई पात्रको रूपमा स्वीकार गरेर फिल्म निर्देशन गर्न सकेको भए कलाकारको यति राम्रो अभिनय अनि यति राम्रो कथा हुँदा-हुँदै फिल्म पक्कै यति अल्मलिने थिएन।
कुन पात्रलाई प्राथमिकता दिने भन्ने निर्देशकको मनमा भएको दुविधाले फिल्मको कथा न यताको न उताको हुन पुग्यो।
झरना नयाँ विषयवस्तुमा प्रवेश गर्ने आँट गर्नु नै यो फिल्मको सबैभन्दा सकारात्मक पक्ष हो। समाजमा यस्ता अनगिन्ती कथाहरू छन् जसलाई पर्दामा ल्याउन जरुरी छ। यो पक्षमा झरनाले मोलेको जोखिम प्रशंसायोग्य छ। तर, आमाको मन थाँती राखेर निर्देशक मात्र बन्न चुक्दा राम्रो फिल्म बन्नबाट चुक्यो ‘एक भगवत्र एक गीता’।
असोज १, २०८० सोमबार १४:५२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।