देशमै उद्यम गर्न खोज्ने युवाहरू केन्द्रित कार्यक्रमका लागि बजेट विनियोजन भइसक्यो : प्रचण्ड

देशमै उद्यम गर्न खोज्ने युवाहरू केन्द्रित कार्यक्रमका लागि बजेट विनियोजन भइसक्यो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज (सोमबार) शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार यसका लागि आवश्यक विधेयक र नियमावलीहरू तर्जुमाको अवस्थामा रहेको र छिट्टै संसदमा पेस गरिने जानकारी समेत दिए।

‘यस क्षेत्रमा नियमित बजेट विनियोजनको सुनिश्चितता तथा नियमन र प्रवर्द्धनका लागि आवश्यक ऐन, नियम, निर्देशिका तयार भए पश्चात अपेक्षित उपलब्धिहरू हासिल हुने अपेक्षा लिएको छु,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारलाई समेत यस क्षेत्रमा लगानी गर्न आह्वान गर्छु।’

उनले चालु आर्थिक वर्षमै नवप्रवर्तन तथा आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी, नवप्रवर्तक र देशमै उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमका लागि बजेट विनियोजन गरेको समेत बताए।

सोमबार देशभर ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ ११औं राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ।

दिवसका अवसरमा प्रधानमन्त्री दाहालले वैज्ञानिक आचरणको मद्दतबाट जनतामा उद्यमशील संस्कृति विकास हुने र यही संस्कृतिमार्फत देशको अर्थतन्त्रको आधारशिला निर्माण हुने तथ्य विकसित राष्ट्रहरूको अनुभवबाट सिक्न सकिने बताए।

असोज १, २०८० सोमबार १३:४३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।