बोटमै राम्रोसँग पाकेपछि मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

बोटमै राम्रोसँग पाकेपछि मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

म्याग्दी : हिमाल पारीको जिल्ला मुस्ताङमा आज (असोज १) देखि स्याउ टिप्न सुरु गरिएको छ।

पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन्।

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिए। विगतका वर्षहरूमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरिएको हो।

स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन्। यससँगै कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेका छन्।

अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारी स्याउ बगैंचामा पुगेका किसानहरूले बताएका छन्।

मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीले स्याउको बगैंचा नै ठेक्कामा लिन्छन्।

असोज १, २०८० सोमबार १३:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।