नेपालकै सर्वाधिक पुरस्कार राशिको बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान

काठमाडौं : पाँचौं बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि आयोजकद्वारा कथा आह्वान गरिएको छ। बाह्रखरी मिडियाले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म 2kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउन सकिनेछ।
संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिने आयोजकले जनाएको छ।
बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ। आन्तरिक समूहले प्राप्त भएका कथा मध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ।
ती मध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रूपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।
साथै संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रूपैयाँ सम्मानस्वरूप प्रदान गरिने जनाइएको छ।
असोज १, २०८० सोमबार १२:२१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।