डाक्टरले यस्तो अभिव्यक्ति दिन मिल्छ? - ‘अब सिरूपाते खुकुरीले काट्नेदेखि केमिकलको गोला पड्काएर गाउँ नै नबस्ने बनाइदिनेसम्म’

डाक्टरले यस्तो अभिव्यक्ति दिन मिल्छ? - ‘अब सिरूपाते खुकुरीले काट्नेदेखि केमिकलको गोला पड्काएर गाउँ नै नबस्ने बनाइदिनेसम्म’

काठमाडौं : हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीलाई भदौ २७ गते आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै घटनाको विरोधमा आइतबार देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिए। 

यसै क्रममा नेपाल मेडिकल एण्ड डेण्टल कलेज एशोसियसनमा अध्यक्ष तथा बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मानसिंह कार्कीले निकै अराजक अभिव्यक्ति दिएका छन्।

उकेराकर्मीसँगको कुराकानीमा उनले अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कसैले छोएको खण्डमा मात्रै पनि आफूले अस्पतालका कर्मचारीहरूलाई कुट्ने निर्देशन नै दिइसकेको बताए।

‘चार जनालाई मात्रै काट्यौ भने हामीले एउटा नजिर स्थापना हुन्छ। द्याट्स ट्रु। अब हामी सहँदैनौ,’ अध्यक्ष डा. कार्कीले भने, ‘मैले त कुट्ने अर्डर गरिसकें। म लड्न, भिड्न तयारी छु। जीवनभरी यिनिहरूकै इलाज गर्नुपर्ने अनि यिनिहरूकै अन्याय सहेर बस्नुपर्ने? यस्तो अभिव्यक्ति स्वास्थ्यकर्मीले दिन थाले भने के हुन्छ?’ 

एशोसियसनमा अध्यक्ष डा. कार्कीले यदि जनता विवेकशील हुँदैनन् भने प्रहरी प्रशासन नआइपुगुञ्जेल आत्मरक्षाको अधिकार दिनुपर्ने तर्क गरे।

‘अब हामीले पनि आफ्नो दस्तावेज खडा गर्नुपर्यो। मैले त भनें म अब दुई सय वटा सिरूपाते खुकुरी किन्छु। म पनि लठ्ठि, भाला राख्छु,’ कार्कीले भने, ‘म त स्वास्थ्यकर्मी हो। मसँग त यस्तो केमिकल छ कि मैले गोला मात्रै पड्काएँ भने गाउँ नै नबस्ने बनाइदिन्छु। जबसम्म प्रहरी प्रशासन आउँदैन तबसम्म तिमिहरू आत्मरक्षा गर भन्दियोस हामीलाई, भिड्ने हो।’

तर, अस्पतालमा डर बोकेर बिरामीको उपचार गर्न नसकिने उनले तर्क गरे। यसरी चिकित्सक पिटिंदा स्वास्थ्य अवस्था जटिल भएका बिरामी अस्पतालमा लिनै कठिन हुने अवस्था निम्तने डा. कार्कीले तर्क गरे। चिकित्सकले गरेको उपचारमा चित्त नबुझेका खण्डमा कानुनी प्रक्रिया अपनाउनुपर्नेमा कानुनै हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मी नकुट्न उनले अनुरोध गरे। 

यसरी चिकित्सक पिट्दा भोलिबाट चिकित्सकले समेत बिरामी पक्षलाई पिट्न सक्ने डा. कार्कीले तर्क गरे। 

‘आजसम्म तपाईंले मात्रै कुट्नु भएको छ, भोलिदेखि तपाईंलाई पनि कुट्न सक्छन् है,’ उनले भने, ‘आखिरमा तपाईंले कुटे पनि जिम्मा मेरै। मैले कुटेपनि जिम्मा मेरै भने त मै कुट्छु नि। म कुटाई खाएर किन कुट्छु। कुटाई खानुभन्दा अघि नै कुट्छु नि।’ 

डा. कार्कीले चिकित्सक जतिखेर पायो त्यतिखेर बजाउने ड्रम सेट नभएकाले सेवा बन्द गर्नु परेको तर्क गरे।

‘हामी ड्रम सेट त हैन नि यार,’ डा. कार्कीले भने, ‘चिकित्सक, स्वास्थ्य संस्थाले गल्ती गरे कानुनी सजाय देउ न। जेल हाल। लाइसेन्स खारेज गर। हामी कानुनभन्दा माथि भनेको छौं र? हाम्रा पनि हातमा दही जमेको छैन नि त।’

उनले करिब २८ मिनेटको उकेराकर्मीसँगको कुराकानीमा अधिकांश समय अराजक कुराकानी गरिरहे। डा. कार्कीले आइतबार बिहानैदेखि बिराट मेडिकल कलेज लगायतको सेवा पूर्ण रुपमा बन्द गरेको बताए।

‘चाहेर नचाहेर बन्द गर्नुको हाम्रो अर्को विकल्प नभएकोले हामीले पूर्ण रुपमा (सेवा) बन्द गरिसकेका छौं,’ बिराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, बिराट नर्सिङ होम। हाम्रो जति पनि छ त्यहाँको संस्थाहरू इमान्दारीका साथ बन्द गरिदिइसक्यौं।’ 

बिराट मेडिकल कलेजमा जँचाउन पुगेका पाँच सय बिरामी लाइनमा बसेकालाई फर्काउनुको विकल्प नभएको डा. कार्कीले तर्क गरे। आइतबार आकस्मिक कक्ष भने चलेको उनले बताए।

‘हामीले इमर्जेन्सी बन्द गरेका छैनौं। आजसम्म बन्द गरेका छैनौं। भोलि भन्न सक्दैनौं,’ उनले भने।

त्यसो भए आकस्मिक कक्ष पनि बन्द गर्ने? भन्ने जिज्ञासामा डा. कार्कीले भने, ‘म त गर्दिनँ। तर, स्टाफ नै आइदिएनन् भने के गर्ने? इमर्जेन्सी पनि बन्द हुने दिन आउँछ।’

डा. कार्कीले भने चिकित्सकले गल्ती गरेको भए कानुनी प्रक्रिया अनुसार सजाय पाउनुपर्ने तर्क गरे। तर, चिकित्सक नै कुटिएपछि अस्पतालको सेवा बन्द गर्नुपरेको उनको तर्क छ।

शल्यक्रिया नै रोकियो

आइतबार दिउँसो वीर अस्पताल पुग्दा टिकट काउण्टर बन्द थियो। अस्पतालमा सेवा लिन पुगेका बिरामी फर्किरहेका थिए। चिकित्सक भने अस्पताल प्राङ्गगणमा ब्यानर टाँगेर बिरामीको सेवा गर्नुको सट्टा कामै छाडेर विरोधमा उत्रिएका थिए।

चिकित्सकमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।

नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रुपमा बन्द गरिने घोषणा गरेको थियो।

घटनामा संलग्नलाई प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाइसक्दा समेत चिकित्सक संघले भने बिरामीको उपचार गर्नुपर्ने मानवीयतालाई समेत बिर्सिएर उल्टै बिरामीलाई दुःख दिनेगरी उपचार सेवा समेत ठप्प परेको हो।

विरोधका अन्य शैली अपनाउनुको सट्टा नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा नै बन्द गर्ने गरी आन्दोलन घोषणा गर्दा सामान्य उपचार मात्रै होइन शल्यक्रियाका लागि तयारी गरिएका बिरामीको समेत शल्यक्रिया नभएको पाइएको छ।

विरोधको नाउँमा वीर अस्पताल, ट्रमा सेन्टर र प्रसूति गृह जस्ता अस्पतालमा शल्यक्रिया समेत रोकिनु राम्रो कुरा होइन। 
सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. समाज गौतमले वीर र ट्रमा सेन्टरमा आकस्मिक बाहेकका सेवा नचलेको पुष्टि गरे।

‘(वीरमा) इमर्जेन्सी र इन्डोर बाहेक (सेवा) भएन, ट्रमा सेन्टरमा पनि इमर्जेन्सी र इन्डोर बाहेक अरू सेवा भएन,’ उनले भने, ‘इमर्जेन्सी अप्रेशन भए, रूटिन अप्रेशन भएन।’

अस्पतालमा भर्ना भएका बिरामीले दुःख पाएको विषय उनले स्वीकारे। तर, त्रसित मानसिकतामा डाक्टरले कसरी उपचार गर्न सक्छ भन्ने उनले तर्क गरे।

कुटपिटमा संलग्नलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा सेवा नै बन्द गरेर बिरामीलाई दुःख दिने राजनीति गर्न मिल्छ? भन्ने जिज्ञासामा डा. गौतमले भने, ‘यसमा डाक्टरले राजनीति गर्छ जस्तो लाग्दैन। निःस्वार्थ डाक्टरले ज्यान बचाउन र काम गर्न वातावरण सजिलो बचाउन मात्रै (सेवा बन्द) गरेको जस्तो लाग्छ मलाई।’

बिरामीलाई सास्ती

आइतबार राजधानीका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर,  कान्ति बाल अस्पताल, प्रसूति गृह लगायतका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुँदा बिरामीले सास्ती बेहोर्नुपर्यो।

वीर अस्पताल र ट्रमा सेन्टरमा संघका प्रतिनिधि चिकित्सकहरूले ओपीडी टिकट काट्न नै रोक लगाए। ‘केटाहरूले टिकट नकाट भनेर थर्काए, त्यसैले टिकट काटिएको छैन,’ ट्रमा सेन्टरका एक कर्मचारीले बताए।

त्यसैगरी वीर अस्पतालमा पनि नेपाल चिकित्सक संघका प्रतिनिधि गएर ओपीडी टिकट काउण्टर नै बन्द गराइदिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

‘वीरको ओपीडी बन्द गराइदिए। मेडिकल एशोसियसनमा साथीहरू आएर ताला लगाएर गए,’ अस्पतालका एक कर्मचारीले भने, ‘झगडा गर्ने कुरा पनि भएन। बिहानै सातै बजे आएर ताला लगाइदिए।’

त्यसैगरी परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)मा पनि ओपीडी सेवा नचलेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए। तर, बिरामीको सेवामा सचेत रहेको उनले बताए।

हिंडेर आउने बिरामीलाई पछि बोलाएको र ५/६ महिना काटेका गर्भवतीलाई भने आकस्मिक कक्षबाट उपचार सेवा दिएको उनले बताए। प्रसूति गृहमा आकस्मिक बाहेकका नियमित गर्नुपर्ने शल्यक्रिया भने नगरिएको अस्पतालले जनाएको छ।

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ओपीडी सेवा बन्द भएको तर आकस्मिक कक्षबाटै सेवा दिएको निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए। ‘बिरामीलाई अप्ठेरो नहुने परिस्थिति कायम गरेका छौं, विभिन्न विभागका डाक्टरहरू इमर्जेन्सीमा खटाइएको छ,’ उनले भने।

एउटा उद्देश्यको आन्दोलनमा अर्को उद्देश्यको सम्झौता

विरोधपछि नेपाल चिकित्सक संघ र सरकारबीच भएको वार्तामा ६ बुँदे सहमति भयो र संघले आन्दोलनका कार्यक्रम भने फिर्ता लिएको छ।

हेटौंडामा चिकित्सक पिट्ने कार्यमा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने लगायत सहमति भएको छ।

आइतबार संघ र स्वास्थ्यमन्त्री स्तरीय निर्णय अनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष (डा. अनिल कार्की) सहितका प्रतिनिधिहरूबीच वार्ता भई छलफलपछि सहमति भएको हो। सहमतिसँगै संघले गरेका आन्दोलन स्थगित गरेको छ।

तर, मन्त्रालय र संघले एउटा प्रकृतिको घटनाका वार्तामा फरक उद्देश्यको समेत सम्झौता गरेको देखिएको छ।

चिकित्सक पिटिएको विषयमा आन्दोलन गर्दै वार्ता बसेको चिकित्सक संघले मन्त्रालयसँग ‘चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्ने लगायत समस्या समाधान गर्ने गरी’ भन्दै ‘तीन महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने’ सहमति गरेको छ। जुन विरोधाभास सम्झौता देखिएको छ।

१ असोज, २०८०, ०८:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।