दिव्य स : मिल हत्या : कुटेको रिसमा एक जनाको हत्या गर्न जाँदा चार जना मारिएको दाबी

दिव्य स : मिल हत्या : कुटेको रिसमा एक जनाको हत्या गर्न जाँदा चार जना मारिएको दाबी

काठमाडौँ : मोटरसाइकलले ठक्कर दिँदा भएको विवादको रिसइबीमा तीनकुनेमा रहेको दिव्य स मिलमा चार जनाको हत्या भएको प्रहरीले दाबी गरेको छ। आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन्।

उनीहरूले सो घटनाका आरोपी २३ वर्षका सञ्जय भण्डारी रहेको र उनले प्रारम्भमा सोही टहरामा बस्ने विशाल राईको हत्याको उद्देश्य रहे पनि पछि पोल खुल्ने डरले अन्य तीन जनाको समेत हत्या गरेको प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख भए अनुसार पक्राउ आरोपीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले घटनाको समयमा लगाएको कपडा र झोला समेत फेला परेको छ।

प्रहरीका केही दिन अगाडि उमेशले मोटरसाइकल चलाउँदा भण्डारीलाई ठक्कर दिएको थियो। तर विशालले उल्टै उनलाई कुटेका थिए।  घटनाको दिन भण्डारी राईलाई भेट्छु र निहुँ खोजे छप्काई दिन्छु भन्दै आफू बस्ने दिदी भिनाजुको काँडाघारीमा रहेको डेराबाट खुकुरी झोलामा राखेर स : मिलमा गएका गएका थिए।

बेलुका स मिलको पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर उनी राई बस्ने कोठामा जाँदा उनी थिएनन्। भण्डारी कोठाको सोफामा बसे। केही समयमा विशाल आएर किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि भण्डारीले खुकुरी निकालेर विशालको टाउकोमा पटक पटक प्रहार गरेको प्रहरीको दाबी छ।

विशालको हत्या गर्ने क्रममा वृद्ध सुभद्रा भुजेलले घटना देखेर कराएको जस्तो लागेपछि उनले वृद्धलाई पनि खुकुरीले टाउकोमा हानेका थिए। पूर्ण बहादुर भुजेल घटनास्थलमा आएर फोन गर्न लागेको जस्तो देखेपछि उनले पूर्णलाई पनि टाउकोमा खुकुरीले हानेको प्रहरीको दाबी छ।

'त्यसपछि अम्बिका भुजेल पनि घटनास्थलमा आएकोले भण्डारीले भुजेलको टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको देखिन्छ,' प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा दाबी गरिएको छ।

घटनापछि भण्डारीले कुमार भुजेलको शवलाई घिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा राखेको, उनको श्रीमती अम्बिकाको शवलाई पानीको कल छेउमा लगेर फालेको र सुभद्राको शवलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगेर फालेको प्रहरी विवरणमा उल्लेख छ।

'विशाल राईलाई रिसईबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटना देखि बाहिर आउँछ भनी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ' प्रहरीले भनेको छ।

चारै जनाको हत्यापछि बाहिर गेटमा ड्याङ ड्याङ आवाज आएको र बत्तीको लाइट समेत देखेपछि पछाडि पट्टीको गेटबाट हाम फालेर कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोकमा रहेको डेरामा पुगेर सुतेका थिए।

उनी आइतबार प्रहरीले खोजी रहेको हुन सक्छ भनेर लागि सिन्धुपाल्चोकमा रहेको घर जान काँडाघारीबाट निस्किएर आउँदै गर्दा हुलियाको आधारमा पक्राउ परेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनी जन्मजात बोल्न सक्दैनन्।

भदौ ३१, २०८० आइतबार १९:४६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।