फिल्म समीक्षा : पटकथा र छायाङ्कनमा आफैँ नाङ्गिएको ‘नाङ्गो गाउँ’
मतदाता भेडा झैँ सोझा हुन्छन् अनि नेता ब्वाँसो जस्तै धूर्त भन्ने वनलाइन स्टोरी राजनीतिक विषयमा बन्ने नेपाली फिल्मको साझा अवधारणा हुन्। मतदाता त असलै छन् तर नेता खराब भएपछि के गर्न सकिन्छ र भन्ने साझा लाइनलाई क्रस गर्दै मतदातामाथि प्रश्न उठाएको छ फिल्म' नाङ्गो गाउँ' ले।
अहिले बसाइँ सराई तीव्र छ गाउँको। सक्ने विदेश गइरहेका छन् नसक्ने वा बिदेसिन मन नगर्नेहरू सहरमा। गाउँ रित्तिँदै गएको बेलामा निर्देशक दीपेन्द्र लामाले जुराएको फिल्मको नामले पनि त्यस्तै सङ्केत गर्छ। तर बसाईँसराइसँग यो फिल्मको सम्बन्ध छैन।
असल पात्र र खराब पात्र बिचको प्रतिस्पर्धामा भगवान् मानिने मतदाताले कसलाई चयन गर्छन् अनि के का आधारमा चयन गर्छन् भन्ने विषय वरिपरि फिल्म घुमेको छ। शिक्षक कहिल्यै खराब हुन सक्दैनन् भन्ने भावको प्रभाव फिल्मको लेखक समेत रहेका लामामा परेको देखिन्छ। त्यसैले उनले फिल्ममा असल पात्रको प्रतिनिधित्व शिक्षकबाटै गराउने प्रयत्न गरेका छन्। खराब पात्रको रूपमा राजनीतिको अनुभवी खेलाडीलाई अगाडि सारेका छन्।
राजनीतिको विषयमा तीन फिल्म बने यो पाली। पहिलो ऐँचो पैचौ। यो रिलिज भइसक्यो। व्यापार सन्तोषजनक गर्न सकेन यसले। बिचमा घुस्यो 'नाङ्गो गाउँ'। तीन दिनको व्यापार हेर्ने हो भने सन्तोषजनक देखिन्छ यसको। यस्तै थिमका तेस्रो फिल्म 'दिमाग खराब' प्रदर्शनको मिति घोषणा गरेर हल पर्खिरहेको छ।
अब फिल्म 'नाङ्गो गाउँ' को कथावस्तुतिर प्रवेश गरौँ।
फिल्मका मुख्य पात्र पासाङ तामाङ (दयाहाङ राई) गाउँकै स्कुलमा पढाउने शिक्षक हुन्। उनी दायाँबायाँ नलाग्ने अनि सिधा आफ्नो काममा केन्द्रित हुने शिक्षक हुन्। स्कुलको ट्वाइलेट जाम हुँदा कर्मचारीले खोलिदिएनन् भने आफै खोल्न अग्रसर हुने चरित्र निर्माण गरेका छन् दयाको निर्देशकले।
४० वर्षदेखि एकलौटी गाउँमा शासन गर्दै आएका जरी लामा ( शिशिर वाङ्देल)ले स्कुलका शिक्षक शिक्षिकाको तलब लामो समयदेखि दिएका छैनन्। त्यसैले जरीबाट आजित बनेका गाउँलेदेखि शिक्षकसम्म स्थानीय चुनावमा नेतृत्व परिवर्तन गर्न चाहन्छन्।
जरीलाई हराउन उनीहरूले सोझो र सबैका प्रिय शिक्षक पासाङलाई चुनावी मैदानमा उतार्न चाहन्छन्। तर उनी स्विकार गर्दैनन्।
थोत्रो एम्बुलेन्स र कच्ची बाटोका कारण समयमा उपचार नपाएर गाउँकी सुत्केरीको मृत्यु हुन्छ। गाउँकी स्वास्थ्य स्वयंसेविका रहेकी पासाङकी श्रीमती निमा( मिरुना मगर) पनि श्रीमान्लाई जरीलाई हराउन स्थानीय चुनावमा उम्मेदवार बन्न सुझाव दिन्छिन्। उनी तयार हुन्छन्।
आफूले लामो समय गरेको सत्कर्ममा विश्वास गर्दै पासाङ उम्मेदवार बन्छन्। त्यसपछि के हुन्छ? त्यसैको वरपर फिल्मको कथानक घुमेको छ।
फिल्म 'घामपानी' बाटै निर्देशक लामाले आफ्नै एक खालको छवि निर्माण गर्ने प्रयत्न गरिरहेका छन्। त्यसको सङ्केत' नाङ्गो गाउँ' मा पनि देखिन्छ। उनले अन्य राजनीतिक फिल्मभन्दा अलग कथानक छान्दै असल नेतृत्व नआउनुमा मतदाता पनि दोषी छन् भन्ने तितो सत्य समातेर कथा भन्ने प्रयास गरेका छन्।
२ घण्टा १८ मिनेट लामो छ फिल्म। कथा जति राम्रो छ त्यही रूपमा पटकथाले न्याय गर्न सकेको छैन। निर्देशकले फिल्मलाई अनावश्यक रूपमा तन्काउँदा सुस्त बन्न पुगेको छ।
फिल्मको करिब आधा घण्टा समय काटेर फाल्दा फिल्मको गुणस्तर खस्कँदैन बरु थप चुस्त हुन्छ। खिचेका काम नलाग्ने दृश्यलाई पत्रकारितामा सक्रिय रहँदा फिल्म समीक्षकको परिचय समेत बनाएका निर्देशक लामाले किन माया गरेका होलान्!
फिल्मको नाम जुराउन कथानक हैन बाजीको सहारा लिइएको छ। जसले निर्वाचन हार्छ उ मतगणनास्थलबाट आफ्नो घरसम्म नाङ्गै हिँड्नुपर्ने सर्तबाट फिल्मको नाम जुराइएको छ। निर्वाचन हार्ने असल पात्र नाङ्गिएको हो या खराब पात्रलाई साथ दिने गाउँले भन्ने पक्षलाई छुने प्रयास गरिएको छ। तर यो सन्देश स्थापित गराउन निर्देशक चुक्दा यतिकै भरमा फिल्मको शीर्षक सार्थक देखिँदैन।
फिल्ममा कलाकार छनौटमा कथाको माग अनुसार भन्दा पनि दर्शकमाझ कसको क्रेज कति छ भन्नेतिर निर्देशक बढी केन्द्रित भएको देखिन्छ। फिल्ममा शिक्षक र नेता बनेका दयाहाङले अभिनयमा पुरानै शैलीलाई निरन्तरता दिएका छन्। कथा र परिवेश नयाँ भए पनि उनको अभिनयमा नयाँपन छैन।
स्वास्थ्य स्वयंसेविका बनेकी मिरुनालाई फिल्ममा चयन गर्नुको कारण यी दुवै जोडी भएको फिल्मको व्यापारको आँकडा सुखद हुनु बाहेक अर्को कारण देखिँदैन। सुस्त अनि सामान्य चरित्र छ उनको फिल्ममा।
एक चेतनशील शिक्षकको श्रीमती अनि आफैँ पनि स्वास्थ्य स्वयंसेविकाको चरित्र भए पनि निर्देशकले सामान्य गृहिणीमा उनलाई खुम्चाइदिएका छन्। उनको अभिनयमा नयाँपन पाइँदैन।
बुद्धि तामाङ, कमलमणि नेपाल अनि रवीन्द्र झाको चरित्र चित्रण सामान्य नै छ। यसो बिचमा दर्शक हँसाउन पञ्च लाइन बाँडेका छन् निर्देशकले उनीहरूलाई। यी फिल्मका चटनी हुन्। तर नुन पिरो मिलाउन सकेका छैनन् चटनीमा पनि।
सहरबाट चुनावका समयमा गाउँ आएका कार्म र साम्राज्ञी राज्यलक्ष्मी शाहको भूमिका ठिकै छ। चरित्र निर्माणका हिसाबले मिरुना भन्दा साम्राज्ञीको चरित्र बलियो छ। महिला चरित्रको दृष्टिकोणले मिरुनालाई निर्देशकले खुम्च्याएका छन्। साम्राज्ञीको चरित्र केही खुलेको छ।
कार्म र साम्राज्ञीको प्रेम र सम्बन्धमार्फत अहिलेको पुस्ताले यौन सम्बन्धलाई हेर्ने दृष्टिकोण पस्कन निर्देशकले डबल मिनिङका डायलगको सहायता लिएका छन्। जरी (शिशिर वाङ्देल) अनि उनको छोराको भूमिकामा देखिएका अङ्कित खड्काको अभिनय राम्रो छ।
फिल्मको सबैभन्दा कमजोरी पक्ष छायाङ्कन हो। फिल्मका अधिकांश दृश्य फोकस आउट छन्। खोलामा शङ्कर (कार्म) र रविना (साम्राज्ञी)को भेट हुँदाको सिन झुर देखिन्छ। क्यामेराले कलाकारलाई पछ्याउँदा फोकस चिप्लिएको प्रस्टै देखिन्छ। अन्य दृश्यहरूमा पनि फोकस चिप्लिएका दृश्य टन्नै छन्।
फिल्ममा समावेश गीतको फिल्मको कथासँग सम्बन्ध छैन। तर ठिकै सुनिएका छन्। ‘सुन सुन सुन्दरी’ बोलको गीत सुमधुर छ।
गाउँमा सुत्केरी व्यथाले बच्चा जन्माउन नसकेपछि स्वास्थ्य स्वयंसेविका (मिरुना)लाई फोन आउँछ। उनले फोन आउँदा फोन नउठाई बोलेको फिल्ममा प्रस्ट देखिन्छ। यस्ता केही दृष्यमा सम्पादक चिप्लिएका छन्।
जरी मङ्गोल मुहारका छन्। उनको श्रीमती आर्यन अनुहारकी छिन्। यो अन्तरजातीय विवाह हो कि जस्तो देखिन्छ पात्र अनुसार। तर फिल्ममा यसबारे केही उल्लेख छैन। निर्देशक कि कलाकार चयनमा चुके कि सन्देश दिन।
फिल्मको ब्याकग्राउण्ड म्युजिक फितलो सुनियो। पहिलो हाफसम्म दर्शकलाई फिल्ममा तान्ने कन्टेन्ट भनेको केही फन्नी पञ्च लाइन अनि वयस्क केन्द्रित डायलग नै हुन्। पहिलो हाफ जति फितलो छ दोस्रो हाफले त्यसमा सुधार गर्न सकेन।
दयाहाङ अनि मिरुनाको फ्यानका लागि फिल्म ठिकठिकै लाग्न सक्छ। तर फिल्ममा को कलाकार छन् मात्र नहेरी फिल्मको कथा, पटकथा, चरित्र चित्रण र छायाङ्कनको गुणस्तरमा पनि ध्यान दिने दर्शकलाई भने निर्देशक दीपेन्द्रले यसपालि निराश बनाए।
भदौ ३१, २०८० आइतबार १५:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।