सन्तोष अधिकारीको निर्माण रहेको फिल्म ‘चित्रा’को छायाँकन सुरु

सन्तोष अधिकारीको निर्माण रहेको फिल्म ‘चित्रा’को छायाँकन सुरु

काठमाडौं : सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखरामा सुरू भएको छ। 

अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुने जनाइएको छ।

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ।

फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए। फिल्म पोखरा र घाचोकमा छायाँकन हुनेछ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र महेश पौडेलको छायाँकन रहेको छ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ। केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएको छ। फिल्मको अष्ट्रेलिया अधिकार अविनाश रोका मगरले लिइसकेका छन्।

भदौ ३१, २०८० आइतबार ११:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।