गल्फ क्रिकेट टी-२० च्याम्पियनसिप : युएईका बलरसामू निरीह ओमान, २२ रनले पराजित

गल्फ क्रिकेट टी-२० च्याम्पियनसिप : युएईका बलरसामू निरीह ओमान, २२ रनले पराजित
फाइल तस्बिर

काठमाडौं : गल्फ क्रिकेट टी-२० च्याम्पियनसिप अन्तर्गत शनिबार राति सम्पन्न खेल युएईले जितेको छ।

१९२ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६९ रनमै सीमित भएपछि युएईले २२ रनले खेल जितेको हो।

ओमानका लागि कप्तान आकिब इलियासले ५२ बलमा १० चौका र ४ छक्कासहित ९० रनको अर्धशतकीय पारी खेले।

मेहरान खानले २२, आयान खानले २१, जतिन्दर सिंहले ११ रन बनाउँदा सोयब खानले अविजित रहँदै १३ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युएईका अली नसीरले तीन, जुनैद सिद्दीकीले दुई तथा आयान अफ्जल खान र मुहम्मद जवादुल्लाहले समान एक-एक विकेट लिए।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९१ रन बनायो।

उसका लागि कप्तान मोहम्मद वसीमले ३८ बलमा ४ चौका र ८ छक्का प्रहार गरी ८० रन बनाएर विस्फोटक इनिङ खेले।

यस्तै, आशिफ खानले २० बलमा ३५ रन बनाउँदा अली नसीरले १० बलमा १५ रन बनाए।

अन्स टण्डन २ बलमा आउट हुँदा आयन्श शर्माले ५१ बलमा ५२ रन जोडर अविजित रहे।

ओमानका लागि आकिव इलियास, आयान खान, बिलाल खान र फयाज बटले समान एक–एक विकेट लिए।

प्रतियोगिताको पहिलो खेले जितेसँगै युएई २ अंकसहित समूहको दोस्रो स्थानमा छ। पहिलो स्थानमा समान दुई अंकसहित आयोजक कतार छ।

नेपालमा हुने विश्वकप छनोटको अभ्यासका लागि भएको प्रतियोगितामा ओमान र युएईसँगै कुवेत, कतार, साउदी अरेयिबा र बहराइन गरी छ वटा खाडी मुलुकहरू सहभागी छन्।

भदौ ३०, २०८० शनिबार २३:१२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।