मानसिक सन्तुलन गुमाएको मानिसले आत्महत्या गर्छ : केपी ओली

मानसिक सन्तुलन गुमाएको मानिसले आत्महत्या गर्छ : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको मानिसले आत्महत्या गर्ने बताएका छन्।

राजधानीमा भएको ‘बासँग बालिबालिका’ नामक अन्तरक्रियात्मक कार्यक्रममा उनले आत्महत्या काँतर, संघर्ष गर्न नसक्ने र मानसिक सन्तुलन गुमाएको मानिसले गर्ने बताए।

उनले भने, ‘आत्महत्या भन्ने शब्द दिमागबाट निकाल्दिनुस्। आत्महत्या काँतरले गर्छ। आत्महत्या संघर्ष गर्न नसक्ने मान्छेले गर्छ। आत्महत्या मानसिक सन्तुलन गुमाएको मानिसले गर्छ,’ उनले भने, ‘प्रकृतिको सबैभन्दा श्रेष्ठ सिर्जना केही छ भने मानवजीवन हो। मानव मस्तिस्क हो। मानव मस्तिस्क एउटा मेमोरी पावरको कारणले श्रेष्ठ छ र अर्को इन्नोभेटिभ क्यारेक्टरका कारणले श्रेष्ठ छ।’

उनले बालबालिकालाई आत्महत्या भन्ने शब्द दिमागबाट निकाल्नसमेत आग्रह गरे। विभिन्न संघर्षबाट बाँचेर आएको जीवन समाप्त पार्नु अपराध भएको उनको भनाइ छ।

उनले थपे, ‘हिँड्दा हिँड्दै सर्प र लामखुट्टेले टोकेर मार्नसक्छ, त्यस्ताबाट बचेर आएको जीवन आत्महत्या रे। अर्कालाई एक थप्पड हान्नु त अपराध हो भने आफैँलाई मानुजस्तो अपराध के होला। त्यस्तो कायर प्रवृत्तिको बारेका सोच्नसमेत हुँदैन।’

यस्तै उनले आफू अझै २० वर्ष सक्रिय रहने बताउँदै त्यसबीचमै पार्टी र देशको नेतृत्व सक्षमलाई हस्तान्तरण गर्नेसमेत बताए।

भदौ ३०, २०८० शनिबार १४:३३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।