के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ भनेर सरकार गम्भीर छ : प्रचण्ड

के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ भनेर सरकार गम्भीर छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन्।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

युवामा रहेका ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई  सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिंदै उनले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको बताए।

‘विदेशमा रहेका लाखौं नेपाली युवाको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन, त्यसैले यसपटक के गरी उनीहरूको हित रक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने।

आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिंदै उनले यसबाट सकारात्मक परिणाम निकाल्न उनीहरूप्रति उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहेको बताए।

भदौ ३०, २०८० शनिबार १०:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।