गैह्रीगाउँ हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ, शब पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा

गैह्रीगाउँ हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ, शब पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा

काठमाडौं : तीनकुने स्थित गैह्रीगाउँको दिव्य सः मिलमा हत्या भएका ४ जनाको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख दिपक थापाका अनुसार पोष्टमार्टमका लागि शब पठाइएसँगै घटनास्थलको शुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ।

सः मिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी २ जना पुरुष र २ जना महिलाको हत्या भएको थियो।

हत्या गरिएका दोलखाका ५६ वर्षे सोही काष्ठ मीलका गेटपालेको रुपमा काम गर्ने कुमार भुजेलको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

उनकी श्रीमती ५२ वर्षे अम्बिका भुजेलको पनि टाउको र शरीरको विभिन्न भागमा चोट देखिएको छ। कुमार भुजेलकी आमा शुभद्रा भुजेल र मोरङका २० वर्षे नवीन राईको पनि अम्बिका र कुमारको हत्या भएकै तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट दीपेन्द्र राईलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। उनी सोही मिलका कामदार हुन्।

उक्त दिव्य सःमिल दोलखाको कालिञ्चोक-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको प्रहरीले बताएको छ।

भदौ ३०, २०८० शनिबार ०८:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।