एसिया कपमा भारतलाई बंगलादेशको २६६ रनकाे लक्ष्य

एसिया कपमा भारतलाई बंगलादेशको २६६ रनकाे लक्ष्य

काठमाडौं : सकिब अल हसन र तौहिद हृदोयको अर्धशतकमा बंगलादेशले एसिया कपको अन्तिम सुपर फोर खेलमा भारतलाई २ सय ६६ रनको लक्ष्य दिएको छ।

कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो।

बंगलादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रनको इनिङ खेल्दा तौहिद हृदोयले ५४ रन बनाए।

एक समय १४ ओभरमा ५९-४ को अवस्थामा पुगेको बंगलादेशलाई पाँचौं विकेटका लागि सकिब र हृदोयले १ सय १ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए।

तल्लोक्रममा नासुम अहमदले ४४ रन बनाउँदा ओपनर तान्जिद हसन १३, लिटन दास डक, अनमुल हक ४, मेहेदी हसन मिराज १३ र शमिम हसन १ रनमा आउट भए।

मेहेदी हसन २९ रनमा नटआउट रहे। डेब्यू खेल खेलेका तान्जिम हसन सकिब ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए।

भारतका शार्दुल ठाकुरले तीन, मोहम्मद शामीले दुई तथा प्रसिद्ध कृष्णा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए।

भारत फाइनलमा पुगिसकेको छ। उपाधिको लागि आइतबार श्रीलंकासँग खेल्नेछ। उता बंगलादेश सुपर फोरबाट बाहिरिसकेको छ।

भदौ २९, २०८० शुक्रबार १९:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।