संविधान दिवसका अवसरमा पदक नबाँड्ने सरकारको निर्णय

संविधान दिवसका अवसरमा पदक नबाँड्ने सरकारको निर्णय

काठमाडौं : सरकारले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरूबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो।

यस पटकको संविधान दिवसका अवसरमा पदक नबाँड्ने निर्णय भएको जनाउँदै आउँदो वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिइन्।

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए। राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो।

सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक क्रियाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको थियो।

भदौ २९, २०८० शुक्रबार १८:३९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।