फोहोर फाल्न नदिने निर्णयबाट पछि हटे बञ्चरेडाँडावासी, असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने

फोहोर फाल्न नदिने निर्णयबाट पछि हटे बञ्चरेडाँडावासी, असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने

काठमाडौं : बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समिति असोज १ गतेदेखि फोहोरका गाडी रोकेर निर्णायक आन्दोलन गर्ने निर्णयबाट पछि हटेको छ। 

आफ्ना मागहरुप्रति गम्भीर रहेको भन्दै सरकारबाट पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोध कार्यक्रम मात्रै गर्ने र फोहोरका गाडीहरु नरोक्ने निर्णय गरेको समितिका संयोजक श्रीराम ढुङ्गानाले बताए। 

यसअघि असोज १ गतेदेखि फोहोर बोकेका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने समितिले जनाएको थियो।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थानीयवासीको मागप्रति सरकार गम्भीर रहेको भन्दै पत्र पठाएका कारण आन्दोलनको स्वरूप परिवर्तन गरेको समितिका संयोजक ढुङ्गानाको भनाइ छ। 

असोज २० गतेसम्म पनि माग पूरा नभएमा भने कुनै पनि आश्वासनलाई नमानी परिणाम नआएसम्म आन्दोलन गर्ने उनले बताए। 

समितिले सरकारसँग मानवबस्तीरहित ल्यान्डफिल्ड साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्रबारे निर्णय गरी कार्यान्वयन गर्नुपर्ने र फोहोर विकास प्राधिकरण गठन गर्नुपर्ने गरी चार बुँदे माग राखेको छ।  

भदौ २९, २०८० शुक्रबार १५:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।