एसियाली खेलकुद खेल्ने १५ सदस्यीय पुरुष क्रिकेट टोली घोषणा
काठमाडौं : २३ सेप्टेम्बरदेखि चीनको हाङझाओमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार एसियाली खेलकुदमा सहभागी हुने १५ खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा विनोद भण्डारी र विवेकुमार यादवले लामो समयपछि टिममा फर्किएका छन्।
रोहित पौडेलको कप्तानीमा घोषणा भएको टिममा करण केसी, प्रतिश जिसी, आशिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, अविनाश बोहरा र सन्दीप लामिछाने छन्।
एक सातअघि मात्र एसिया कप खेलेर नेपाल फर्किएको टोलीले एसियाली खेलकुदका लागि तयारी थालिसेकेको छ। जसका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइसमेत नेपाल आइसकेका छन्।
एसियाली खेलकुद टी–२० फरम्याटको हुनेछ। जसअन्तर्गत सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ।
नेपाल टी–२० को विश्व वरीयतामा १७औं स्थानमा छ। माल्दिभ्स ८०औं स्थानमा छ भने मङ्गोलियाको आईसीसी वरीयता नै तोकिएको छैन।
भदौ २९, २०८० शुक्रबार १४:४७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।