अमेरिका प्रस्थान गर्नुअघि प्रचण्डले भने, ‘जलवायु परिवर्तनबाट नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउँछु ’

अमेरिका प्रस्थान गर्नुअघि  प्रचण्डले भने, ‘जलवायु परिवर्तनबाट नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउँछु ’

काठमाडौं : प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट नेपालमा परेको गहिरो र दूरगामी प्रभावहरूको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने बताएका छन्।  

आजको प्रतिनिधि सभा बैठकमा आसन्न अमेरिका तथा चीन भ्रमणबारे जानकार गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपालका लागि चाँसोका विषय र प्राथमिकताहरूबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताएका हुन्। 

यसैगरी दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका बिषयमा गहन छलफल गर्ने तयारी रहेको समेत उनले बताए। 

उनले भने, ‘संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवम् सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी साइडलाइनमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारी, सौर्य र उर्जा लगायतका बिषयमा जानकारी गराउनेछुँ।’

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको महासभामा सहभागि हुनेबारे सदनलाइ जानकारी गराउँदै उनले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा भएका प्रयासका विषयहरूलाई विश्व समुदायमाझ जानकारी गराउनुलाई आफुले अवसरको रुपमा लिएको बताए।  

महासभामा सहभागि हुन प्रधानन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान हुनेछन्। 

भदौ २९, २०८० शुक्रबार १४:३०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।