ढुक्क हुनुस्, गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला हाम्रै पालामा बन्छ : रेनु दाहाल
नारायणगढ : धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने बताइन्।
शुक्रबार नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै जसरी भए पनि रङ्गाशाला बनाउने बताइन्।
‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ। रङ्गशाला के हुँदैछ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ,’ रेनु दाहालले भनिन्, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ, हाम्रै पालामा। तपाईंहरू ढुक्क रहनुस्।’
रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको उनले बताइन्।
महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने बताइन्।
रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ।
भदौ २९, २०८० शुक्रबार १३:२१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।