चिकित्सक कुटपिटको विरोध, मकवानपुरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चिकित्सक कुटपिटको विरोध, मकवानपुरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

मकवानपुर : मकवानपुरका अस्पतालमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ। 

गत बुधबार हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए।

उक्त घटनाको विरोधमा हेटौंडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उनको भनाइ छ।

जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवा मात्रै सञ्चालनमा रहेको उनले बताए।

डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए।

भदौ २९, २०८० शुक्रबार १२:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।