च्याउ टिप्न जाँदा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

च्याउ टिप्न जाँदा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैंडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेकी उनको गैंडाको आक्रमण परेर घटनास्थलमै मृत्यु भएको ऐरले बताए।

मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। ती दुई जनाले भने रुख चढेर ज्यान जोगाएका थिए।

बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो। सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा चढेको अवस्थामा फेला पारेको थिए।

भदौ २९, २०८० शुक्रबार १२:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।