बुवाको मुख हेर्ने दिनमै दाङमा छोराले मुड्कीले हान्दा बाबुको ज्यान गयो

बुवाको मुख हेर्ने दिनमै दाङमा छोराले मुड्कीले हान्दा बाबुको ज्यान गयो

घोराही : बाबुको मुख हेर्ने दिनमै गए राति दाङ धर्नामा छोराले बाबुको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० बजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।

कुटपिटमा संलग्न छोरा सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मादकपदार्थ सेवन गरेका बाबु र छोराबीच आपसमा विवाद हुँदा सन्तोषले प्रेमलाई मुड्कीले हानेर हत्या गरेको प्रहरीको भनाइ छ।

यसअघि नै उनले घर परिवारसँग पैसा मागिरहने र पैसा नदिए मार्ने, काट्ने भनेर धम्की दिंदै आएको खुलेको छ। छोराले बाबु नमर्दै काजक्रिया गर्ने भन्दै कपाल समेत काटेको स्थानीयहरूले प्रहरी समक्ष बयान दिएका छन्।

विदेश गएर अलपत्र परेपछि घरका बाबु आमाले पैसा हालिदिएर छोरालाई विदेशबाट फर्काएका थिए। विदेशबाट फर्केपछि छोराले दिनहुँ जसो पैसा मागेर घर परिवारलाई सताउने गरेको पनि स्थानीयहरूले प्रहरीलाई बयानमा भनेका छन्।

भदौ २९, २०८० शुक्रबार १२:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।