बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रचण्ड

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिंदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको उल्लेख गरे।

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र पारिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिता जस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्धन गर्न/गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरे।

बाल यौन दुर्व्यवहार, बालबालिका विरुद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसार जस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ।

भदौ २९, २०८० शुक्रबार ०९:५१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।