कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक
फाइल फोटो

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ।

निर्माणका क्रममा रहेकाले  जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो।

नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ। यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन्।

यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन्। 

भदौ २९, २०८० शुक्रबार ०९:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।